मुलुकको असामान्य परिस्थितिमा देश भित्र र बाहिरका शक्तिले खेलिरहेका छन्: गृहमन्त्री थापा

नौलो समाचार संवाददाता
२०७७ फागुन ८, शनिबार मा प्रकाशित ४०१ पटक पढिएको
मुलुकको असामान्य परिस्थितिमा देश भित्र र बाहिरका शक्तिले खेलिरहेका छन्: गृहमन्त्री थापा

फागुन ८, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा असामान्य परिस्थिति उत्पन्न भएको र त्यसमा देशभित्र र बाहिरका शक्तिहरूले खेलिरहेको बताएका छन् ।

ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभामा बोल्दै थापाले मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको बताएका हुन् । ‘आज हामी एउटा असामान्य परिस्थितिबाट गुज्रिरहेका छौं । आज सदन विघटन भएको छ । आज यो देशलाई अस्थिरतातिर धकेल्ने प्रयत्न गरिएको छ, प्रयास गरिएको छ । किन आज यो परिस्थिति सिर्जना भयो ? किन फेरि यो देशलाई अस्थिरतातिर धकेल्ने षडयन्त्र गरियो ?,’ उनले भने, ‘यो देशमा अस्थिरता उत्पन्न कुनै बाह्य शक्तिहरूद्वारा होइन स्वयम् हाम्रै आन्तरिक पंक्तिबाट अस्थिरताको षडयन्त्र रचियो । देशलाई अस्थिरतातिर धकेल्ने योजना, षडषन्त्र रचियो । आजको यो परिस्थिति हाम्रै पंक्ति हाम्रै पंक्तिबाट हाम्रै भित्र लुकेका अवसरवादीहरू गुटवादीहरू पद लोलुपहरूले जन्माएका हुन् ।’

पार्टीभित्रका व्यक्तिहरूले सिर्जना गरिएको अस्थिरतामा देश बाहिर र भित्रका शक्तिहरूले खेलिरहेको गृहमन्त्री समेत रहेका बादलको भनाइ थियो । ‘ती अवसरवादीहरूले, फुटवादीहरूले, ती गुटवादीहरूले, ती पदलोलुपहरूले आजको यो असामान्य परिस्थिति सिर्जना गरेका हुन् । यो असामान्य परिस्थितिभित्र बाह्य र भित्री शक्तिहरू खेलिरहेका छन्,’ ती शक्ति को हुन् भन्ने उल्लेख नगर्दै थापाले भने ।

त्यो अस्थिरताबाट मुलुकलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीको नेतृत्वमा अगाडि बढिरहेको थापाको भनाइ थियो । उनले अहिलेको परिस्थितिबारे थप भने, ‘नेकपाभित्र लुकेका अवसरवादीहरूले जुन परिस्थिति सिर्जना गरेका छन् त्यसबाट उनीहरू खुसी भएका छन् । आम जनताहरू दुःखी, आक्रोशित भएका छन् ।’ ओलीको नेतृत्मा आफूहरूले सुद्धिकरण अभियान सञ्चालन गरिरहेको थापाको दाबी थियो।

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केही मन्त्रीहरू ओली समूहलाई छोडेर आफूतिर आइरहेका छन् भनेर भ्रम फैलाएको थापाले बताए । उनले भने, ‘केही मन्त्री फर्कँदैछन् भनेर भ्रम फाले । आज देशव्यापी रूपमा उनीहरूले भ्रम किन फैलाउँदै छन् । किन यस किसिमका कुरा गर्देछन् ? त्यो उनीहरूको आतंक र भयको अविव्यक्ति हो ।

दाहाल-नेपाल पक्षले जर्मनीका शासक हिटलरका सञ्चारमन्त्री गोयबल्सको जस्तै प्रचारको सहारा लिइरहेको थापाको भनाइ थियो ।

सरकारले लिएको कदम असंवैधानिक, प्रतिगामी हो भनि रहेकाहरूलाई थापाको जवाफ थियो, ‘जनताको ताजा जनादेश लिने कुरो लोकतान्त्रिक कदम हो, अग्रगामी हो । ‘उनले जस्केलाबाट षडयन्त्रकारी ढंगबाट सरकारको नेतृत्व हत्याउन खोजेपछि त्यस्तो कदम चालिएको दाबी गरे । ‘सदन विघटन गर्ने ऐतिहासिक, क्रान्तिकारी, ठूलो राजनीतिक कदम हो, यसको साथसाथै संवैधानिक पनि छ,’ उनले भने ।

प्रतिनिधिसभा विघटन हुने र बैशाख १७ र २७ गते घोषणा भएकै मितिमा चुनाव हुने थापाको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस