जन्मकैदको सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिएकोमा शिवप्रसाद पौडेलका परिवारको आपत्ति

मन्त्रिपरिषद्को निर्णयविरूद्ध अदालत जाने तयारी
नौलो समाचार संवाददाता
२०७७ फागुन ९, आईतबार मा प्रकाशित ६२४ पटक पढिएको
जन्मकैदको सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिएकोमा शिवप्रसाद पौडेलका परिवारको आपत्ति

फागुन ९, चितवन । तत्कालिन नेपाल तरूण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको हत्यामा संलग्न व्यक्तिलाई कैद मिनाहा गरी आममाफी दिइएकोमा परिवारले विरोध जनाएको छ।

पत्नी बिनु पौडेललेसहितका परिवारका सदस्यले भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी जन्मकैदको सजाय तोकिएकालाई कैद मिनाहा गरेर सरकारले पीडितमाथि अन्याय गरेको आरोप लगाइन्।

‘यो देशमा न्याय हराएको छ, अब न्याय खोज्न सबै एकजुट भएर आन्दोलनमा जानुपर्ने भएको छ,’ उनले भनिन्, ‘हामी मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिले गरेको कैद मिनाहाको विरोधमा अदालत जाने तयारीमा छौं।’

पौडेलले आफू र राष्ट्रपति समान विषयका पीडित भएको भन्दै आफ्नो पतिको हत्यामा संलग्न पत्ता लगाउनु पर्नेमा पहिचान भएर पक्राउ भइसकेकालाई पनि छाड्ने निर्णय भएको भन्दै यसकाविरूद्ध संघर्ष गर्ने बताइन्।

‘उहाँ पनि २६–२७ वर्षको उमेरमा विधवा हुनुभयो, मेरो पनि उस्तै अवस्था हो। त्यसैले उहाँबाट न्याय हुने ठानेका थियौं,’ उनले भनिन्, ‘तर उहाँले नै अन्याय गरेपछि हामी न्याय खोज्न कहाँ जाने?’

पौडेलले राष्ट्रपतिबाट अन्याय भएको भन्दै जहाँ जाँदा न्याय पाइन्छ त्यहीँको ढोका ढकढक्याउन तयार रहेको बताइन्। उनले यस विषयमा मानवअधिकारवादीले पनि बोल्नु पर्ने बताइन्।

पौडेलका छोरा सिविनजंग पौडेलले हत्या काण्डमा संलग्न व्यक्तिलाई सजाय नसकिँदै छुटाएर सरकारले लापरबाही गरेको बताए। दाइ तारा पौडेलले पार्टीसँग वृहत छलफल गरी सरकारी निर्णयविरूद्ध कानूनी लडाइँमा जाने बताए।

सरकारले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कैद मिनाहा गरेकामध्ये तीन जना (फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी) शिवप्रसाद पौडेलको हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका पनि छन्।

केसी २०६७ सालको असार २० गते, मोक्तान २०६७ सालको भदौ ३ गते र श्रेष्ठ २०६७ सालको साउन २२ गते पक्राउ परेका थिए।

पौडेल माथि २०६८ साल मंसिर २० गते चितवन जिल्ला कारागारभित्रै आक्रमण भएको थियो। उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा सोही सालको पुस २ गते मृत्यु भएको थियो।

भातृ संगठन तरुण दलका जिल्ला अध्यक्षको सरकारको नियन्त्रणमा रहँदा मृत्यु भएको भन्दै त्यतिखेर माउ पार्टी नेपाली कांग्रेसले देशव्यापी आन्दोलन चर्काएको थियो। कांग्रेसको दबाब पछि तत्कालिन सरकारले पौडेललाई सहिद घोषणा गरेको थियो।

पौडेललाई कारागारमा आक्रमण गर्ने उनीहरू त्यतिखेर उनकै भाइ गोविन्द पौडेलको हत्याको अभियोगमा सोही कारागारमा थिए। तर उनीहरूले उक्त मुद्दामा भने अदालतबाट सफाइ पाएका थिए। गोविन्द पौडेलको २०६६ सालका जेठ ३ गते भरतपुरमा हत्या भएको थियो।

शिवप्रसाद पौडेलमाथि आक्रमण गरेको अभियोगमा चितवन कारागारमा कैद भोगिरहेका अन्य दुई जना भने गोविन्द पौडेलको हत्यामा पनि संलग्न रहेका थिए। उनीहरू भने अहिले पनि कारागारमै छन्।

शिवप्रसाद पौडेल २०६८ भदौ १० गते चितवनको कविलासमा एमाले निकटका युवा सञ्जय लामाको हत्याको अभियोगमा पूर्पक्षका लागि कारागारमा थिए। नेपाली कांग्रेसले पौडेल उक्त दिन पार्टीको महिला संघले आयोजना गरेको तीज विशेष कार्यक्रममा अतिथिका रूपमा रहेको भन्दै उनको रिहाइको माग गर्दै आएको थियो।

पौडेलको हत्यामा संलग्नलाई कैद मिनाहा गरेर रिहा गरिएकोमा नेपाल तरुण दलले पनि विरोध गरेको छ। तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारले सरकारले गरेको निर्णयको फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिए।

यस वर्ष आममाफी दिइएका मध्ये १३ जना चितवन जिल्ला कारागारका रहेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए। उनीहरू मध्ये ४/४ जना कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र ५ जना सवारी ज्यान मुद्दामा कैद भुक्तान गर्दै आएका थिए।

५० प्रतिशत कैद भुक्तान गरेका चरित्र राम्रो भएका कैदीलाई सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा कैद मिनाह गर्नेगर्छ।

प्रतिक्रिया दिनुहोस