फागुन १३, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालत मार्फत कारागार पठाएको छ ।
प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।
फरार अपराधी कुनै पनि बहानामा उम्कन नदिने आफुहरुको रणनीति भएको प्रहरी उपरीक्षक खत्रीले बताए ।
उनका अनुसार फागुन यता हालसम्म १२ फरार प्रतिवादी पक्राउ परेका छन् । गत माघ पहिलो साता काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका खत्रीले आफू ‘अपराध नियन्त्रणका लागि खरो उत्रने’ बताए । कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन छ जना पक्राउ परेका छन् ।
गत हप्ता पनि प्रहरीले अभियान शुरुआतमा विभिन्न मुद्दाका फरार अन्य पाँच फरार प्रतिवादीलाई पक्रेको थियो । उनीहरूलाई फरार प्रतिवादी खोजतलासका क्रममै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिसकेको छ । कैद भुक्तानका लागि अदालत पठाइएकामा वनपैदावार हानी-नोक्सानी, सवारी दुर्घटना गराई अङ्गभङ्ग गराएको, जातीय छुवाछूत तथा भेदभाव मुद्दामा संलग्नलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला कारागार धुलिखेलमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस