जिल्ला प्रहरी कार्यालय काभ्रेले सुरु गर्यो फरार अपराधी पक्राउ अभियान

नौलो समाचार संवाददाता
२०७७ फागुन १३, बिहिबार मा प्रकाशित ८७७ पटक पढिएको
जिल्ला प्रहरी कार्यालय काभ्रेले सुरु गर्यो फरार अपराधी पक्राउ अभियान

फागुन १३, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालत मार्फत कारागार पठाएको छ ।

प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।

फरार अपराधी कुनै पनि बहानामा उम्कन नदिने आफुहरुको रणनीति भएको प्रहरी उपरीक्षक खत्रीले बताए ।

उनका अनुसार फागुन यता हालसम्म १२ फरार प्रतिवादी पक्राउ परेका छन् । गत माघ पहिलो साता काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका खत्रीले आफू ‘अपराध नियन्त्रणका लागि खरो उत्रने’ बताए । कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन छ जना पक्राउ परेका छन् ।

गत हप्ता पनि प्रहरीले अभियान शुरुआतमा विभिन्न मुद्दाका फरार अन्य पाँच फरार प्रतिवादीलाई पक्रेको थियो । उनीहरूलाई फरार प्रतिवादी खोजतलासका क्रममै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिसकेको छ । कैद भुक्तानका लागि अदालत पठाइएकामा वनपैदावार हानी-नोक्सानी, सवारी दुर्घटना गराई अङ्गभङ्ग गराएको, जातीय छुवाछूत तथा भेदभाव मुद्दामा संलग्नलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला कारागार धुलिखेलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस