पनौती नगरपालिकाका १२ वटै वडामा भैँसीका पाडी (थोर) वितरण कार्य सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ चैत्र ९, सोमबार मा प्रकाशित १०६२ पटक पढिएको
पनौती नगरपालिकाका १२ वटै वडामा भैँसीका पाडी (थोर) वितरण कार्य सम्पन्न

चैत ९, काभ्रे । पनौती नगरपालिकाका १२ वटा वडामा भैँसीका पाडी (थोर) वितरण कार्य आज (सोमबार) सम्पन्न भएको छ । गएको पुषबाट सुरु भएको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाको आन्तरिक श्रोतबाट ३०६ वटा पाडी/थोर १२ वटा वडाका स्थानीय किसानलाई वितरण गरिएको हो ।

भैँसीको दुधमा फ्याट र पौष्टिक तत्व धेरै हुने भएता पनि भैँसी मासुजन्य पदार्थको लागि धेरै प्रयोग हुन थालेपछि भैँसी नै लोप हुने अवस्थालाई मध्येनजर गर्दै पनौती नगरमा भैँसी संरक्षण कार्यक्रम ल्याईएको पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पहिलो चरण सकिए लगतै अब दोस्रो चरणमा नगरपालिकाले तोकेको पकेट क्षेत्रका किसानलाई दुई सय ओटा पाडि वितरण गर्ने योजना रहेको उहाँको भनाई छ । उत्पादनशील भैंसीको संख्यालाई संरक्षण गर्न र दुध उत्पादनमा निरन्तरता दिन यो कार्यक्रम नगरपालिकाले बिगतका वर्षहरु बाटै सुरु गरेको हो । गत वर्ष ३ सय वटा पाडी वितरण गरेको थियो ।

समापन कार्यक्रमको प्रमुख आतिथ्यता पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले गर्नुभएको थियो भने उप-प्रमुख गीता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसादअधिकारी, कृषि तथा पशुपंक्षी शाखा मणिप्रसाद सापकोटा एवंम् प्राविधिक कर्मचारीको लगायतको उपस्थिति रहेको थियो ।

कृषि तथा पशुपन्छी शाखा प्रमुख सापकोटाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने नगर कार्यापलिका परिवार,नगर स्तरीय कृषि तथा पशुपंक्षी समिति, प्राविधिक समिति, पत्रकार महासंघ काभ्रे शाखा ,सम्पूर्ण पत्रकार,नगरपालिका परिवार लगायत सम्पूर्ण सरोकारवाला तथा आम कृषक दाजुरभाई,दिदीबहिनीहरुलाइ नगर्पालिक्कको तर्फाबाट धन्यबाद ज्ञापन गर्नु भएको छ।

नगरपालिकाले किसानलाई पाडी बितरण संगै भैसी सुत्केरी भत्ता समेत उपलबध गराउदै आएको छ । पहिलो बेत ब्याएकोलाई ५ हजार र त्यो भन्दा पछी २ हजार तथा पाडापाडीको जन्मदर्ता कार्यक्रम समेत गरिदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस