कविता : ‘जोडिन्न अब’

सूर्य लाकोजू
२०७७ चैत्र ११, बुधबार मा प्रकाशित १०० पटक पढिएको

तिमी पूर्व
म पश्चिम
उल्टो छ रङ्ग
सेतो र कालो
हिजोको आत्मीयता
पानीको फोका भएपछि
एना जस्तै
चरक्क चर्किएको छ मन
सायद जोडिन्न अब ।

मनमा घृणाको सलह पालेर
दुनियाँको अगाडि
चोखो हुन
आउनु पर्दैन तिमी
गालामा बगेको आँसु पुछ्न
आँसु पुछेबापतको
महङ्गो मूल्य तिर्न सक्दिन म
मन वारि र पारि पुगेपछि
दुख बांडेको अभिनय किनरु
जिन्दगीका अनेक वसन्त र शिशिर
पार गरेपछि
सिउनै नमिल्ने गरी
फाटेको छ मन
सायद जोडिन्न अब ।

जिन्दगी प्याण्डोराको बाकस होइन
अथवा
कुनै जादुगरको जादुगरी पनि होइन
जहाँ चिताएको मात्र पुगोस
भने जस्तो मात्रै होस
जिन्दगी त गुलाफको बिरुवा जस्तै हो
जहाँ दुखका कांडासँगै
सुखका गुलाफ पनि
फक्रेकै हुन्छन निरन्तर
भो गुनासो छैन
पलाँसको फूलसँग
बास्ना फर्काएर म
विपरीत ध्रुबतिर लाग्दैछु
तिम्रो चाहनालाई स्पर्श गर्दै ।

आज
तिमी प्रशान्त महासागर
म हिन्द महासागर
हामी एक आपसमा
मिलेको जस्तो मात्र देखिन्छौ
तर घुल्दैनौ
अब हामी
तेल र पानी जस्तै भयौँ
मिश्रणको न्यून सम्भावना बोकेका
वर्षौ देखिको हाम्रो सम्बन्ध
लामो सहकार्यमा
स्वार्थको खिया लागेपछि
जोड्नै नमिल्ने गरी
भाँचिएको छ मन
सायद जोडिन्न अब ।

  • सूर्य लाकोजू

प्रतिक्रिया दिनुहोस