लकडाउनको एक वर्षपछि फेरि लकडाउनकै चर्चा : कस्ताे छ सरकारको तयारी?

नौलो समाचार संवाददाता
२०७७ चैत्र ११, बुधबार मा प्रकाशित ५४३ पटक पढिएको
लकडाउनको एक वर्षपछि फेरि लकडाउनकै चर्चा : कस्ताे छ सरकारको तयारी?

चैत ११, काठमाडौं । स्वास्थ्य मन्त्रालयले छिमेकी राष्ट्रमा कोभिड १९ संक्रमितको सङ्ख्या बढेकाले नेपालमा पनि सतर्कता अपनाउनु अनुरोध गरेको छ। त्यस्तै सभा समारोह, सार्वजनिक भिडभाडका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ। तराईका भारतसँग सिमा जोडिएका केही जिल्लामा २५ जनाभन्दा बढी मानिस भेला नगर्न समेत जिल्ला प्रशासन कार्यालयहरुले सुचना जारी गरिसकेका छन्।

लकडाउन भएको एकवर्ष भएको समयमा नै फेरि लकडाउनको झल्को दिनेगरी संक्रमितको सङ्ख्या बढ्नु र प्रशासनले समेत सक्रियता देखाएकाले फेरि देशभर नै लकडाउन त हुने होइन भन्ने मानिसमा आशंका बढेको छ। सरकारले के साँच्चिकै लकडाउन गर्ने तयारी गरिरहेको त छैन?

नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ्ले भने अहिले लकडाउन नै गर्ने विषयमा कुनै पनि तयारी नभएको बताएका छन्।

‘अहिले तत्काल नै लकडाउन गर्नुपर्ने देखिएको छैन। सरकारले लकडाउनको विषयमा अहिले सोचेको छैन। तर संक्रमितको सङ्ख्या र नाकाबाट मानिसको आवतजावतले गर्दा त्यसतर्फ ध्यान चाहिँ दिनुपर्ने देखिन्छ,’ मन्त्री गुरुङले भने।

लकडाउनको समयमा सरकारले भारतसँग बन्द गरेका सीमा नाका केहीदिनअघि मात्र संचानलमा ल्याएको छ। भारतबाट नाका हुँदै नेपालमा मानिस प्रवेश गर्न थालेपछि संक्रमण दर फैलिने सम्भावना झन् बढेर गएको छ।

‘यस विषयमा चाहिँ ध्यानदिनु पर्ने छ। संक्रमण बढ्दै गए र मानिसले पनि सुरक्षाको उपायहरु अपनाउनु पर्ने देखिएको छ,’ मन्त्री गुरुङले भने।

त्यस्तै, गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्रचार गर्दै कोभिड १९ संक्रमणलाई नियन्त्रण गर्न आवश्यक तयारी गर्न समेत अनुरोध गरेको छ। आवश्यक क्वारेन्टाइनदेखि नाकामा समेत कडाइ गर्न निर्देशन दिइएको छ।

‘लकडाउनकै विषयमा कुनै पनि कुरा भएको छैन। स्वास्थ्य मन्त्रालयले भने अनुसार व्यवस्था गर्न जिल्लाहरुमा आवश्यकता अनुसार निर्देशन दिइएको हो,’ गृह मन्त्रालयलका सुचना अधिकृत खुमकान्त आचार्यले भने।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गृहमन्त्रालयले स्थानिय प्रशासनहरुलाई भिडभाड हुने कार्यक्रमहरु नगर्न निर्देशन दिएको हो। त्यस्तै नजिकिएको होलीमा समेत सार्वजनिक कार्यक्रमहरु र समुह बनाएर होली नखेल्न विभिन्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस