ब्राजिलमा कोरोनाले एकै दिन ३४ सयभन्दा बढीको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ चैत्र १५, आईतबार मा प्रकाशित ६६१ पटक पढिएको
ब्राजिलमा कोरोनाले एकै दिन ३४ सयभन्दा बढीको मृत्यु

चैत १५, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमण तीव्र बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा थप ८५ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाले एकैदिन ३ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो । यसअघि ब्राजिलमा बुधबार एकैदिन ३ हजार २ सय ५१ जनाको कोरोनाले मृत्यु भएको थियो ।

योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ९० हजार नाघेको छ । त्यस्तै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख १० हजारभन्दा बढी नाघेको छ । ब्राजिलमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड ९ लाख निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ । यसअघि कोरोनाका कारण लकडाउन नगर्ने र मास्कको प्रयोगको आलोचना गर्ने राष्ट्रपति जैर बोल्सोनारोले आफ्ना कदमको बचाउ गरेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा ब्राजिल दोस्रो प्रभावित मुलुक हो । सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ४८ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा ३ करोडभन्दा बढी संक्रमित छन् । त्यस्तै संक्रमित संख्याका आधारमा प्रभावित देशहरूको सूचीमा भारत, फ्रान्स र रुस क्रमशस् तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २७ लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १२ करोड ६६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस