पनौती नगरपालिकामा कुकुरहरुको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सुरु

नौलो समाचार संवाददाता
२०७७ चैत्र १७, मंगलबार मा प्रकाशित १२२६ पटक पढिएको
पनौती नगरपालिकामा कुकुरहरुको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सुरु

चैत १७, काभ्रे । काभ्रेको पनौती नगरपालिकामा छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण शिविर आज (मंगलबार)देखी सुरु गरिएको छ । नगरपालिकाको आयोजना र नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर (नार्क) को संयोजनमा आजदेखि २३ गतेसम्म यो कार्यक्रम संञ्चालन गरिने पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सहरी क्षेत्रमा रहेका छाडा कुकुरहरुले समूह बनाएर मानिस तथा अन्य पशुहरुलाई आक्रमण गर्ने, मानिसमा रोगहरु फैलने, कुकुरकै कारण हुन सक्ने सडक दुर्घटना कम गर्न र उनीहरुको समूह तथा प्रजनन प्रकियालाई रोक्न यो शिविरको आयोजना गरिएको शाखा प्रमुख सापकोटाले बताउनु भयो ।

छाडा कुकुरहरुले घरपालुवा पशुपन्छी तथा मनिसहरुलाई टोकेर घाइते बनाइदिने र मानव बस्तीमा आतंक फैलाउने क्रम बढ्न थालेपछि बन्ध्याकरण कार्यक्रम थालिएको हो । पनौती नगरपालिकामा विगत चार वर्षदेखि छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण कार्यक्रमहरु गरिदै आएको छ । नगरपालिकाले हालसम्म ८ सय भन्दा बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिसकेको छ ।

सात दिनसम्म नगरपालिकामा चल्ने शिविरमा दुई सय कुकुरहरुको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहेको कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो । यो कार्यक्रमले सामुदायमा रहेको छाडा कुकुरहरुको नियन्त्रण तथा ब्यवस्थापनमा सहयोग हुने बताईएको छ ।

छाडा कुकुर समातेर लगेर उपचार गर्दा एउटा कुकुर बराबर पाच हजार खर्च लाग्नेछ जसमा नगरपालिकाले आधा र सामाजिक दायित्व अन्तर्गत आधा रकम नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर (नार्क)ले बेहोर्ने छ।

भेटेरिनरी डा. गणेश बन्जारा, डा. आशिष महत, डा. नितेश कार्की तथा सुजन भण्डारीको टिमले औषधि उपचारको कार्य गरिरहेको छ।

नगरपालिकाको परिसरमा हरेक दिन बिहान ८ः०० बजेदेखि दिउसो २ बजेसम्म नगर क्षेत्रका सामुदायिक तथा छाडा कुकुरहरुको नि:शुल्क स्थायी बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप समेत लगाईने छ ।

प्रतिक्रिया दिनुहोस