नमोबुद्ध नगरपालिकाको नवौं नगरसभा सम्पन्न, इँटा उद्योगीसंग वार्ता गर्न समिति गठन

नौलो समाचार संवाददाता
२०७७ चैत्र १८, बुधबार मा प्रकाशित १०४६ पटक पढिएको
नमोबुद्ध नगरपालिकाको नवौं नगरसभा सम्पन्न, इँटा उद्योगीसंग वार्ता गर्न समिति गठन

चैैैत १८, काभ्रे। काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले आज (बुधबार ) नवौं नगरसभा सम्पन्न गरेको छ । नगरपालिकामा इँटा उद्योग विस्थापन पछि उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न आह्वान गरिएको नवौँ नगरसभा बैठकले काभ्रे इँटा उद्योग संघसँग वार्ता गर्न वडा नं. ५ का वडा अध्यक्ष वुद्धसिं तामाङको संयोजकत्वमा गठित इँटा उद्योग व्यवस्थापन वार्ता समितिलाई अनुमोदन समेत गरेको छ  ।

बैठकले वार्ता मार्फत इँटा उद्योगको समस्यालाई दिगो रुपमा समाधान गर्ने उद्देश्य अनुरुप आवश्यक पर्ने सबै अधिकार प्रत्यायोजन समेत गरेको बताईएको छ ।

त्यस्तै वडा नं. ५ का वडा अध्यक्ष वुद्धसिं तामाङको संयोजकत्वमा गठित वार्ता समितिमा वडा अध्यक्षहरु सञ्जीव ढकाल, कुलप्रसाद न्यौपाने, धर्मसिं लामा र रामकृष्ण उपाध्याय सदस्य रहेका छन् ।

नमोबुद्ध ७ का वडाअध्यक्ष धर्मसिं लामाले वार्ता समिति अनुमोदन र अधिकार प्रत्यायोजनका लागि पेश गरेको प्रस्ताव नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् ।

आगामी दिनमा वार्ता समितिले नगर कार्यपालिकाले तोकेको कार्यशर्तको आधारमा इँटा उद्योगसम्वन्धी समस्यालाई दीगो रुपमा समाधान गर्न, उद्योगीले २०७५ पुस २७ गरेको प्रतिवद्धता अनुसार पुस २८ गते जिल्ला समन्वय समितिमा गरेको करार सम्झौता कार्यान्वयन गर्न र वातावरणमैत्री एवं उद्योगमैत्री नगर स्थापना गर्न तत्कालै वार्ता प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए ।

त्यस्तै नमोबुद्ध नगरपालिकाले नगरपालिकामा रहेका इँटा उद्योग विस्थापन गर्न २०७५ पुस २८ गते भएको नगरपालिका र उद्योगीबीचको करार सम्झौता कार्यान्वयनको क्रममा २०७६ भदौ ८ र ९ गते उद्योग विस्थापन गरेको थियो ।

यसबारे अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा इँटा उद्योग सञ्चालनमा आउन लागेपछि यसबारे छलफल र आवश्यक निर्णयका लागि नगरपालिकाको नगरसभा बैठक आह्वान भएको हो ।

त्यस्तै आजको नगरसभा बैठकमा वडा नं ३ का अध्यक्ष रामशरण हुमागाईंले विगतमा भएका सम्झौताको कार्यान्वयनसहित विकल्पका विषयमा छलफल गर्नुपर्ने बताएका छन्  भने नगरसभा सदस्यहरु कल्पना सत्याल र भवमान तामाङले वातावरणमैत्री नगर निर्माणको अभियानबाट पछि हट्न नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस