काभ्रे रोशीका युवा बसन्त तामाङले सगरमाथा आरोहण गर्ने

नौलो समाचार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित १४१३ पटक पढिएको
काभ्रे रोशीका युवा बसन्त तामाङले सगरमाथा आरोहण गर्ने

चैत २०, काभ्रे । काभ्रे रोशी गाउँपालिकाको पर्यटन प्रवद्र्धनको सन्देश लिएर युवा पर्वतारोही वसन्त तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। रोशी गाउँपालिका वडा नं.२ का युवा बसन्त तामाङले यहि चैत २३ गते सगरमाथा आरोहणको लागि प्रस्थान गर्ने जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

रेडियो रोशी र रेडियो गौरबको संयोजनमा आयोजित उक्त कार्यक्रममा संविधान सभा सदस्य तीर्थ लामाले सबै कुरा आँट र साहसबाट नै सम्भव हुने भएकोले बसन्त तामाङको सहासिक कार्यको प्रशंसा गर्नुभयो । सगरमाथा आरोहणको लागि सहयोग स्वरुप रोशी गाउँपालिकाले एक लाख पचास हजारको चेक हस्तान्तरण गर्नुको साथै रोशीको झण्डा पनि हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा पर्वतारोही बसन्त तामाङको सफल सगरमाथा आरोहणको लागि रोशी गाउँपालिका अन्तर्गतका समाजसेवीहरुले आर्थिक सहयोग गर्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो । आर्थिक सहयोग गर्नेमा संविधान सभा सदस्य तिर्थ लामा, समाजसेवीहरु गणेश लामा, महेन्द्र थिङ, गुणराज मुक्तान, चन्द्र लामा, शार्किमान लामा, देवराज मोक्तान, दिनेश लामा, विलम मुक्तान, भिम बहादुर मगराती, हिरा लामा, डि वि सुनुवार लगायतका रहेका छन् ।

आरोही तामाङले जेठको ५ देखि ९ गते भित्रमा सगरमाथाको चुचुरोमा पाइला टेकेर रोशीको झण्डा फहराउने लक्ष्य रहेको बताइएको छ । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डिवि लामाले रोशीको पर्यटन विकासमा यो आरोहणले महत्वपूण अर्थ राख्ने बताउनु भयो । कार्यक्रम रेडियो गौरबको अध्यक्ष गणेश लामाको अध्यक्षता र संविधान सभा सदस्य तीर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस