समानान्तर गतिविधिलाई देशव्यापी रूपमा लैजाने एमाले खनाल–नेपाल पक्षको निर्णय

नौलो समाचार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित ९५६ पटक पढिएको

समानान्तर गतिविधिलाई देशव्यापी रूपमा लैजाने एमाले खनाल–नेपाल पक्षको निर्णय

चैत २०, काठमाडौँ । नेकपा एमाले (झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष)ले संगठन विस्तारलगायत समानान्तर गतिविधिलाई देशव्यापी रूपमा लैजाने निर्णय गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा आएका सुझावका आधारमा राजनीतिक प्रतिवेदन तयार गरेर कमिटी तहमा बहसमा लैजाने निर्णय उक्त पक्षले गरेको हो ।

काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा शुक्रवार बसेको खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले राष्ट्रिय भेलाको निष्कर्ष अनुसार संगठन विस्तार र राजनीतिक अभियानलाई देशव्यापी लैजाने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

‘राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा पत्रमा आएका सुझाव समेटेको प्रतिवेदनमा छलफल गर्‍यौं । भोलि बस्ने बैठकबाट अन्तिम रूपमा दिएपछि प्रकाशन गरेर पार्टीव्यापी रूपमा वितरण गर्ने निर्णय भएको छ,’ खनाल–नेपाल पक्षको प्रचार विभागका प्रमुख समेत रहेका भट्टराईले भने, ‘राष्ट्रिय भेलाको निष्कर्षअनुसार नेकपा एमालेको संगठन विस्तार र अभियानलाई राष्ट्रव्यापी रूपमा लैजाने निर्णय भएको छ ।’

राष्ट्रव्यापी अभियानको ढाँचाबारे आज प्रस्ताव भएको र भोलि अन्तिम रूप दिइने उनले बताए । संगठन निर्माण, प्रशिक्षण, भेला र विशेष कार्यक्रमको स्वरूपलाई भोलि नै अन्तिम रूप दिएर पार्टीव्यापी रूपमा सर्कुलर पठाउने निर्णय खनाल–नेपाल पक्षले गरेको छ ।

बैठकले सर्वोच्च अदालतको आदेशबाट एमाले पुनःस्थापना भएपछि पार्टी एकताको रक्षा गर्न ओलीसँग आग्रह गरेको छ ।

पार्टी एकताको पक्षमा माहौल सिर्जना गर्न कार्यकर्तालाई आग्रह गरिएको उनले बताए ।

खनाल–नेपाल पक्षले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले गरेको निलम्बन पूर्वाग्रही भएको भन्दै आपत्ति समेत जनाएको छ ।

‘घनश्याम र सुरेन्द्र पाण्डेमाथि गरिएको कारवाहीको जानकारी बाहिर आएको छ । यसलाई स्वेच्छाचारी कदमको रूपमा लिएका छौं । नवौं राष्ट्रिय महाधिवेशनको विधानविपरीतको कारवाही पूर्वाग्रही छ । यसले ओली एमाले विभाजन गर्न उद्धत छन् भन्ने पुष्टि भएको छ,’ भट्टराईले भने ।

अर्का नेता भीम रावलले आफूहरूले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन नगरेको दाबी गरे । ‘हामीले एमालेमै रहेर पूर्ववत् कमिटी चलाएका छौं, कुन कार्यकालबाट सञ्चालन गरियो भन्ने कुरा गौण हो,’ रावलले भने ।

खनाल–नेपाल पक्षले बिहीवार मात्र कास्कीमा समानान्तर जिल्ला कमिटी गठन गरेको थियो । उक्त पक्षले युवा संघ र अनेरास्ववियुको समानान्तर कमिटी बनाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस