नेपालमा १८ वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिका कोरोना संक्रमित

शिक्षा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गर्दै
नौलो समाचार संवाददाता
२०७७ चैत्र ३०, सोमबार मा प्रकाशित ९६८ पटक पढिएको
नेपालमा १८ वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिका कोरोना संक्रमित

चैत ३०, काठमाडौं। कोरोना (कोभिड-१९) को दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला शहरका विद्यालय बन्द गरि अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी विद्यालयका सञ्चालकहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुको विद्यालय बन्दको विकल्प खोज्न सरकारलाई सुझाएका छन् । यसै विषयमा छलफल गर्न शिक्षा मन्त्रालयले आज सरोकारवालाहरुसँग छलफल गर्दैछ ।

नेपालमा हालसम्म २ लाख ७९ हजार तीन र चारसयको हाराहारीमा कोरोना संक्रमित हुँदा २१ हजारभन्दा बढी १८ वर्षमुनिका बालबालिका अर्थात विद्यालय जाने उमेर समूहका व्यक्ति संक्रमित भएका छन् ।
नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप युके भेरियेन्टको बालबालिकामा संक्रमण उच्च देखिएको छ ।

एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा संक्रमण दर दैनिक १५ प्रतिशतसम्म पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याकं छ ।

कोरोना भाइरसको पहिलो चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए  ।

तर, दोस्रो चरणमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत उच्च जोखिममा रहेको देखिएको छ ।

बालबालिकाको लागि कोरोनाविरुद्वको भ्याक्सिन बनिसकेको छैन, जसले गर्दा पनि बालबालिकामा संक्रमण हुनु अझ जोखिम पूर्ण मानिन्छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शनिबारको बैठकमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न तथा वैकल्पिक माध्यमलाई निरन्तरता दिने प्रस्ताव आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक आजका लागि बोलाएको छ ।

विद्यालय सञ्चालहहरुको भने अवस्था हेरी विद्यालय सञ्चालन गर्न जोड दिएका छन् ।

शिक्षा क्षेत्रको तालुकदार शिक्षा मन्त्रालय भने निर्णय प्रक्रियामा ढिलाइ गर्दा आलोचिन बन्दै आएको छ ।

विद्यालयको बारेमा आँफैले निर्णय गरि प्रस्ताव गर्नुपर्ने मन्त्रालय अन्य निकायबाट प्रस्ताव आएपछि छलफलमा जुट्ने तयारीमा छ ।

अभिभावकहरु पनि जोखिमका आधारमा विद्यालय सञ्चालन गर्नु पर्नेमा सहमत छन् ।

भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने कि बन्द भन्ने विषयमा अन्तर मन्त्रालय समन्वय देखिँदैन ।

विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

यसअघि अन्य निकायसँग छलफलविना वायुप्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने निर्णयको केही स्थानीय तहले अवज्ञा गरेका थिए ।

पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म ८० लाख भन्दा विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस