चितवनमा मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

१७ घाइते, ६ जनाको अवस्था गम्भीर
नौलो समाचार संवाददाता
२०७७ चैत्र ३०, सोमबार मा प्रकाशित ३८७ पटक पढिएको

चितवनमा मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

चैत ३०, काठमाडौँ । चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन पुरुष, एक महिला र अर्का एक युवक छन् । २२ जना मजदुर चढेको ना १ त ६२८२ नम्बरको ट्याक्टर चितवनको राप्ती नगरपालिका ११ चिउरी खोलामा आइतबार राती दुर्घटनामा परेको हो । अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको भनिएपनि एकिन कारण खुलेको छैन ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो, राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्ग लामा, राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ छन् । एक युवकको परिचय खुल्न बाँकी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका मजदुर सवार ट्याक्टर दुर्घटना भएको हो । घाइते १७ जनामध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस