पनौती–बनेपा सडकखण्डको कालो पत्रेको काम आगामी साताबाट सुरु हुन्छ: नगर प्रमुख न्यौपाने

खानी र टिपर व्यवशायीलाई नियम र मापदण्डमा ल्याउन पहल गरिने
नौलो समाचार संवाददाता
२०७७ चैत्र ३०, सोमबार मा प्रकाशित २१३१ पटक पढिएको
पनौती–बनेपा सडकखण्डको कालो पत्रेको काम आगामी साताबाट सुरु हुन्छ: नगर प्रमुख न्यौपाने

चैत ३०, काभ्रे । पनौती–बनेपा सडकखण्डको कालो पत्रे गर्ने काम आगामी साताबाट सुरु हुने भएको छ । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले नयाँ वर्ष २०७८ बैशाखको पहिलो हप्ताबाट पनौती–बनेपा रोडको कालोपत्रेको काम सुरु गरिने बताउनुभयो । प्रहरी चौकी पनौतीले नगरपालिकाको सभा हलमा आज (सोमबार) आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले उक्त रोडको लागि १६ करोड ७५ लाख बजेट निकासा भैसकेको र केहि कागजी प्रक्रियाका कारण केहि ढिला हुन पुगेको जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले टिपरले सवारी आवागमनमा अस्तव्यस्त बनाएको स्विकार गर्दै उनीहरुको लागि बैकल्पिक बाटोको काम भैरहेको र आउदो असार मसान्तसम्म बैकल्पिक बाटो तयार गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पनौती त्रिवेणीघाटदेखी ढलमलेसम्मको बैकल्पिक बाटोबाट टिपर आवतजावत हुदा पनौती–बनेपा सडक खण्डमा सवारी आवागमनमा धेरै सहज हुने उहाँको भनाई छ ।

नगर प्रमुख न्यौपानेले पनौती बसपार्कमा कुशादेवी, खोपासी, बास्डोल, भालेश्वर, नमोबुद्ध र बनेपाबाट आउने सबै सवारीसाधनको केन्द्र भएको र टिपर पनि त्यहिबाट गुड्ने भएकोले बसपार्क अस्तव्यस्त हुन पुगेको बताउनुभयो । कार्यक्रममा सचेत नागरिकहरुको जिज्ञासाको जवाफ दिदै प्रमुख न्यौपानेले जेठ समान्तबाट बसपार्कमा कालोपत्रेको काम गरिने र बसपार्कलाई अझै साघुरो र अव्यवस्थीत बनाउने स्थानियको नीजि सवारीसाधन बसपार्कका छेउछाउमा पार्किङ गरेर राख्न नपाउने र निर्माण सामाग्री जथाभावी थुर्पानालेलाई कारवाहि गर्न प्रहरीसंग समन्वय गरिने बताउनुभयो । नमोबुद्ध रोड लगायतका विभिन्न सडकमा निर्माण कार्य तिब्र रुपमा भैरहेको बताउदै आगामी मकर मेलासम्म पनौती नगर चिटिक्क भैसक्ने उल्लेख गर्नुभयो ।

विभिन्न ढुङ्ग खानी व्यवशायी र टिपर व्यवशायीलाई नियम र मापदण्डमा ल्याउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी चौकी पनौतीबाट राम्रा कार्यहरु भैरहेको उल्लेख गर्दै उहाँले पनौती नगरपालिका क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न प्रहरी चौकी पनौतीसंग समन्वय गर्दै अगाडी बढ्ने बताउनुभयो ।

प्रहरी चौकी पनौतीका ईन्चार्ज सई सन्तोष बानियापय सभापतित्वमा सम्पन्न कार्यक्रममा पनौती नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, समाजसेवी, नागरिक अगुवा, पत्रकार तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस