नमोबुद्धमा रहेको मेथिनकोट अस्पताललाई १९ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ५९० पटक पढिएको

नमोबुद्धमा रहेको मेथिनकोट अस्पताललाई १९ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

बैशाख ३, काभ्रे । नमोबुद्ध नगरपालिका ४ मा रहेको प्रादेशिक अस्पताल मेथिनकोट अस्पताललाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरिएको छ । बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् । मेथिनकोट अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।

कानको बार्षिक कार्यक्रमको बजेटलाई एकीकृत गर्दै अस्पतालका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो । अस्पताललाई लगायतका सामग्री हस्तान्तरण गरिएको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ–सुक, बागमति प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, नामोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना लगायतको उपस्थितिमा मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा कोइकाका कन्ट्री डाइरेक्टर सङ हुन–को र कोइका अलुम्नाई एसोसिएसन कानका अध्यक्ष विनोद बिडारीले नमोबुद्ध ४ का वडा अध्यक्ष एवं मेथिनकोट अस्पतालका अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई मेडिकल सामग्री हस्तान्तरण गरेका थिए । अस्पताललाई दिइएको सामग्रीमा पेसेन्ट मोनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बिआइपी–एपी मेसिन एक थान, पल्स अक्सिमिटर पाँच थान, डिजिटल बिपी मेसिन ६ थान, इमर्जेन्सी बेड ३ थान, अक्सिजन रेगुलेटर ५ थान, इमर्जेन्सी मेडिकल कार्ट १ थान र इमर्जेन्सी बेड म्याट्रेस ३ थान रहेका छन् ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ–सुकले मेथिनकोट अस्पतालले कोभिडको महामारीको समयमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि अस्तपाललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सामान्य अवस्थामा सुरु भएको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको तर, आवश्यक पूर्वाधार, जनशक्ति र मेडिकल सामग्रीको अभावका कारण प्रभावकारी सेवा प्रदान गर्न समस्या परेको बताए । उनले अस्पताललाई मेडिकल सामग्री प्रदान गरेकोमा कोइका र कोइका अलुम्नाई एसोसिएसनलाई धन्यवादसमेत दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले नगरपालिकाको व्यवस्थापनमा सञ्चालित अस्पतालको स्तरोन्नति गर्दै प्रदेश सरकारले सहकार्य गर्ने जिम्मेवारी लिएको बताए । मेथिनकोट अस्पताल राजमार्गसँगै जोडिएको हुनाले अस्पतालमा आउने बिरामीको सेवाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । १५ शैयाको अस्पताललाई ५० शैयाको बनाउने निर्णय प्रदेश सरकारले गरेको र पुर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा कोइका अलुम्नाई एसोसिएसन कानका अध्यक्ष विनोद बिडारीले एसोसिएसन स्थापनाको २० बर्षमा पहिलोपटक यति ठूलो सहयोग गरेको बताए । कोभिड महामारी सुरु भएपछि विभिन्न स्थानमा मेडिकल सामग्री हस्तान्तरण गरिएको जानकारी दिँदै उनले २० बर्षमा नगरेको काम मेथिनकोट अस्पतालमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले मेथिनकोट अस्पताललाई थप सुविधासम्पन्न बनाउन राजदूत सुकलाई विशेष आग्रह पनि गरे ।

यस्तै अस्पतालका अध्यक्ष एवं वडाअध्यक्ष उद्धवप्रसाद काफ्लेले नमोबुद्ध नगरपालिका र आसपासका क्षेत्रका सर्वसाधारणको सेवामा तल्लिन रहेको अस्पतालको स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाइएको प्रति प्रदेश सरकारलाई आभार प्रकट गरे । २०६६ सालबाट सञ्चालनमा आएको अस्पताललाई अझै सुविधासम्पन्न बनाउनका लागि आवश्यक सहयोग गर्न पनि काफ्लेले सरोकारवालाहरुलाई धन्यवाद दिए ।
कोरियन सरकारको छात्रवृत्तिमा नेपाल सरकार र अन्तर्गतका निकायबाट मेडिकल छात्रवृत्तिमा तालिम वा विश्वविद्यालयमा अध्ययनका लागि दक्षिण कोरिया गएका व्यक्तिहरुको संलग्नतामा स्थापित कोइका अलुम्नाई एसोसिएसनले विगतदेखि नै स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको यसका महासचिव दीपक गौतमले बताए । उनका अनुसार उक्त मेथिनकोट अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कोइकाका उच्च अधिकारीहरु तथा कोइका अलुम्नाई एसोसिएसनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
मिति ः २०७८ वैशाख २ गते


प्रतिक्रिया दिनुहोस