वैशाख १६, काठमाडौं। देशभरबाट मास्क नलगाई हिँड्ने ५८ हजार भन्दा बढीलाई होल्डिङ सेन्टरमा राखेर छाडिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५८ हजार १ सय ५२ जनालाई होल्डिङ जोनमा राखी सम्झाइ बुझाइ छाडिएको हो।
त्यसैगरी २५ हजार ८ सय ८४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ। मास्क नलगाइ हिँडडुल गर्ने, तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन्।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ।
प्रतिक्रिया दिनुहोस