काभ्रेमा आजबाट निषेधाज्ञा लागू, कुन कुन ठाउँमा ?

नौलो समाचार संवाददाता
२०७८ बैशाख २०, सोमबार मा प्रकाशित १५९४ पटक पढिएको
काभ्रेमा आजबाट निषेधाज्ञा लागू, कुन कुन ठाउँमा ?

बैशाख २०, काभ्रे। काभ्रे जिल्लामा आज (सोमबार) बाट निषेधाज्ञा लागू भएको छ। गएराति (आईतबार) राती १२ बजे देखि निषेधाज्ञा लागू भएको हो। बैशाख २६ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू रहने जिल्ला प्रशासन कार्यलयले शनिबार नै जनाएको छ।

पछिल्ला दिन जिल्लामा कोरोना संक्रमितको दर उच्च भएसँगै रोकथामको प्रयास स्वरूप निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो।

बैशाख १९ गते राती १२ बजेदेखि लागु हुने गरी वैशाख २६ गते राती १२ बजेसम्मलाई काभ्रेका निम्न स्थानमा निषेध आदेश जारी गरिएको छ।
१) अरनिको राजमार्गको साँगादेखि बनेपा-धुलिखेल-पाँचखाल हुदै दोलालघाटसम्म सडकको दाँया-बाँया ५ सय मिटर
२) बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्म सडकको दाँया-बाँया ५ सय मिटर
३) बनेपा-पनौती-खोपासी सडकको दाँया-बाँया ५ सय मिटर
४) वीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर
५) पाँचखालको जिरोकिलो देखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटरसम्म
६) ग्वार्को–नमोबुद्ध राजमार्गको मानेदोभान–कुशादेवि–सुन्थान–शंखुपाटीचौर–नमोबुद्ध मन्दीर क्षेत्र दाँयाँ–बाँयाँ २०० मिटर क्षेत्रमा निषेध आदेश जारी गरिएको छ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैंक, वित्तीय सेवा, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवामा प्रयोग भएका सवारी साधनहरुले विषय उल्लेख गरी सञ्चालन गर्न पाउने भएको छ भने जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनले राति ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

सो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालन गरेर अत्यावश्यक सामग्री खाद्य सामग्री बेचबिखन, तरकारी, औषधि पसल सञ्चालन गर्न पाइने भएको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने छ ।

जिल्ला प्रशासन कार्यालयले जारि गरेको निषेधाज्ञा आदेश

प्रतिक्रिया दिनुहोस