काभ्रेमा हालसम्मकै धेरै संक्रमित, एकैदिन थपिए १०६ जना नयाँ संक्रमित

सबैभन्दा धेरै बनेपा, धुलिखेल, पनौती र पाँचखालमा
नौलो समाचार संवाददाता
२०७८ बैशाख २०, सोमबार मा प्रकाशित १३८५ पटक पढिएको
काभ्रेमा हालसम्मकै धेरै संक्रमित, एकैदिन थपिए १०६ जना नयाँ संक्रमित

बैशाख २०, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (सोमबार) थप १०६ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरपालिकाका रहेका छन्।

कोरोना संक्रमणले गाजेको बनेपा नगरपालिकामा आज २८ जनालाइ संक्रमण पुष्टि भएको छ। यसैगरी पनौती नगरपालिकामा २४ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै धुलिखेल नगरपालिकामा पनि २४ जना थपिएका छन् भने पाँचखाल नगरपालिकामा पनि संक्रमित ह्वात्तै बढेर आज १८ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी नमोबुद्ध नगरपालिकामा ३ जना, मण्डनदेउपुरमा १, बेथानचोक गाउँपालिकामा ३ जना, रोशी गाउँपालिकामा २, महाभारत गाउँपालिकामा २, भुम्लु गाउँपालिकामा १ जना गरी जम्मा १०६ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ५५५ पुगेको छ। जसमा २५२ जना महिला र ३०३ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३९ सय ८२ पुगेको कार्यालयको जनाएको छ।

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

यस्तै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। बनेपाको शिर मेमोरियल अस्पतालमा १ जना भारतीय नागरिक (पुरुष) तथा धुलिखेल अस्पतालमा कोटेश्वर काठमाडौंकी ७० वर्षीय बृद्धाको निधन भएको हो।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस