पल शाहले बाँड्न थाले निःशुल्क अक्सिजन

नौलो समाचार संवाददाता
२०७८ बैशाख २३, बिहिबार मा प्रकाशित १०१९ पटक पढिएको
पल शाहले बाँड्न थाले निःशुल्क अक्सिजन

बैशाख २३, काठमाडौँ। अस्पतालहरुमा कोरोनाका बिरामीलाई अक्सिजनका सिलिन्डर पाउन समस्या भएको खबर सुनेपछि अभिनेता पल शाहले सहयोगी हात अगाडि बढाएका छन्। हाम्रो टिम नेपालसँगको सहकार्यमा उनले अक्सिजनका सिलिन्डर संकलन अभियान सुरु गरेका छन्। बुधवार (हिजो)बाट उनले केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर अस्पताललाई निःशुल्क हस्तान्तरण गरे।

भक्तपुृर अस्पतालमा उपचारार्थ कोभिडका बिरामीका लागि अक्सिजन ग्यास सहयोग गरेका तस्विर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै उनले अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपरोस् भनेर आफूहरु निरन्तर सेवामा खटिरहेको उल्लेख गरेका छन्। उनले अक्सिजन ग्यास खरिदका लागि हाम्रो टिम नेपाललाई आर्थिक सहयोग पनि गरेका छन्।

अस्पताललाई अक्सिजन सहयोगपछि उनले भने: ‘अहिले कोरोनाका बिरामीलाई अक्सिजन पाउन गाह्रो रहेछ । यसैले अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर निःशुल्क अक्सिजन बाँड्न थालेका हौं। हामी अस्पतालसँगै संक्रमितको घरमा पनि पुर्‍याउँदैछौं। दर्शकका कारण म पल शाह भएको हुँ। आज उहाँहरुलाई गाह्रो हुँदा म सहयोग नगरी कसरी बस्न सक्छु र !

पल शाहले आफ्नो नाममा फाउन्डेसन खडा गरेर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन्। गत वर्ष लकडाउनको समयमा उनले रोजगारी गुमेर विहान बेलुका हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका थिए। त्यस्तै, विभिन्न ठाउँका बाढी पहिरो पीडितलाई खाद्यन्न, लत्ता कपडा पनि सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस