काभ्रेमा एक साता निषेधाज्ञा थपियो, वित्तीय क्षेत्रलाई समेत कडाइ गरिने

नौलो समाचार संवाददाता
२०७८ बैशाख २६, आईतबार मा प्रकाशित १०६२ पटक पढिएको
काभ्रेमा एक साता निषेधाज्ञा थपियो, वित्तीय क्षेत्रलाई समेत कडाइ गरिने

बैशाख २६, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (आइतबार)देखि थप एक साता निषेधाज्ञा जारी गर्ने भएको छ। कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गए पछी जिल्ला प्रशासन कार्यालयले जेष्ठ २ गतेसम्मको लागि निषेधाज्ञाको समय थप गरेको हो। यस अघि बैशाख १९ गतेदेखि आज २६ गतेसम्म मात्र निषेधाज्ञा घोषणा गरेको थियो।

बैशाख २६ गते आइतबार राति १२ बजेबाट सकिने निषेधाज्ञाको दोस्रो अवधि जेठ २ गते राति १२ बजेसम्म कायम हुनेछ ।

वित्तीय संस्थामा कडाइ

दोस्रो चरणको निषेधाज्ञामा वित्तीय क्षेत्रलाई समेत कडाइ गरिने भएको छ । यसअघि वित्तीय क्षेत्रका सहकारी, बैंक र बिमा कम्पनीहरु निर्बाध सञ्चालन भइरहेका थिए। आइतबारबाट लागू हुने गरी वित्तीय क्षेत्रअन्तर्गत बैंकहरु आलोपालो गरी सञ्चालन हुनेछन्।

त्यस्तै, सहकारीहरु साताको दुई दिनमात्र सञ्चालन हुनेछन् । सडकमा भीडभाड बढेसँगै प्रशासनले वित्तीय क्षेत्रको व्यवस्थापन गर्न लागेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

निषेध आदेश जारी भएको क्षेत्रमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा निषेध गरिएको छ।

अरनिको राजमार्गको साँगादेखि बनेपा बजार-धुलिखेल सदरमुकाम-पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा निषेध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस