कोरोना बिरुद्ध चौंरीदेउरालीका युवाहरु जागे, निर्माण गरे ‘एन्टी कोभिड भोलेन्टीयर टीम’

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ८१६ पटक पढिएको

कोरोना बिरुद्ध चौंरीदेउरालीका युवाहरु जागे, निर्माण गरे ‘एन्टी कोभिड भोलेन्टीयर टीम’

बैशाख ३०, काभ्रे।  जिल्लाको चौंरीदेउराली गाउँपालिकाका युवाहरुले ‘एन्टी कोभिड भोलेन्टीयर टीम’ निर्माण गरेका छन्। गाउँपालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय युवा अञ्जीत गौतम र अन्य युवाहरुको सक्रियतामा यो टीम निर्माण गरेको हो।

गाउँमा कोरोना संक्रमितहरू बढेको अवस्थामा यो टिमले गाउँपालिकाको प्रत्यक्ष मातहतमा रही गतिविधि गर्ने स्थानीय युवा गौतमले जानकारी दिनुभयो। जनताको स्वास्थ्यलाई मध्यनजर गरेर युवाहरुले गाउँपालिकाको कोभिड-१९ संक्रमण रोकथाम, उपचारको अभियानलाई आफूहरुले सहयोग गर्न लागेको गौतमले बताउनुभयो।

शंकास्पद वा संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रही काम गर्नु परेमा उच्च सतर्कताका साथ नेतृत्व गर्दै स्वास्थ्यकर्मीहरूलाई सघाउने साथै गाउँमा आइसोलेसनमा बस्न प्रचार-प्रसार, सामाजिक चेतना र युवा परिचालन गर्ने आफुहरुको कार्य योजना रहेको गौतमले बताउनुभयो।

साथै केही गरी कोरोना संक्रमितको मृत्यु भईहालेमा घर जोखिम न्यूनिकरणका लागि सावधानीपूर्वक दाहसंस्कार गर्न सहयोग गर्ने, कोरोना संक्रमित बिरामीको ओसार पसार र हेरचाह गर्न स्वास्थ्यकर्मी र परिवारलाई आवश्यक सहयोग पनि उक्त टिमले गर्नेछ।

यो टिम गाउँपालिकाको ९ वटै वडामा गठन गरि परिचालन गर्न लागेको बताउँदै गौतमले वडा नं. ५ बाट यो कार्य सुरु भएको जानकारी समेत दिनुभयो। सबै भोलेन्टीयर निःशुल्क सेवामा लाग्ने उहाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस