कोरोना काभ्रे: आज थपिए १५६ संक्रमित, ५६ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ४४० पटक पढिएको
कोरोना काभ्रे: आज थपिए १५६ संक्रमित, ५६ जना डिस्चार्ज

बैशाख ३०, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (विहिबार) थप १५६ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका १५६ जना मध्ये बनेपाका मात्र ४७ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट धुलिखेलमा आज ४० जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी पनौती नगरपालिकामा १३ जना, मण्डनदेउपुरमा १५, पाँचखालमा ८, नमोबुद्धमा ६, महाभारत गाउँपालिकामा १३, खानीखोलामा ६, चौरीदेउरालीमा ४, रोशीमा २, तेमालमा १ र भुम्लुमा १ जना गरी जम्मा १५६ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६१८ पुगेको छ। जसमा ७२३ जना महिला र ८९५ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ५ हजार २६५ पुगेको कार्यालयले जनाएको छ।

५६ जना डिस्चार्ज

काभ्रे जिल्लामा आज ५६ जना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका ५६ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

२ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज २ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेलका ५० वर्षीय पुरुषको घरमा होम आइसोलेसनमा बसिरहेको अवस्थामा निधन भएको हो। यस्तै रामेछापका ४६ वर्षीय पुरुषको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस