बैशाख ३१. भक्तपुर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् ।
ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार गरी २० हजार रुपैया नगद सहयोग गरिएको अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् ।
पत्रकार ढकाल घरमै स्वास्थ्यलाभ गरिरहेकोले विहीबार उनको भाइमार्फत उक्त नगद अध्यक्ष प्रजापतिले हस्तान्तरण गरेका हुन् । पत्रकार ढकाललाई मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरिएको थियो ।
कोरोना संक्रमण भएपछि ढकालको भक्तपुर अस्पतालको हाई केयर युनिटमा उपचार भएको थियो । स्वास्थ्य स्थिति गम्भिर बन्दै गएपछि उनलाई मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयुमा राखी थप उपचार भएको थियो । उनी हाल डिस्चार्ज भई घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस