पर्दा पछाडी काम गर्ने प्राविधिकलाई फिल्मकर्मीको सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित ८०७ पटक पढिएको
पर्दा पछाडी काम गर्ने प्राविधिकलाई फिल्मकर्मीको सहयोग

जेठ १४, काठमाडौँ। नेपाली फिल्मी क्षेत्रका कलाकारहरुले चलचित्र प्राविधिकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपाली फिल्म क्षेत्र ठप्प छ । फिल्म निर्माण, प्रदर्शन र वितरण सम्बन्धि सबै कार्य रोकिँदा दिनहुँ श्रम गरेर परिवारको गुजरा चलाउने प्राविधिकहरु समस्यामा परेका छन् । चलचित्र प्राविधिक संघका १५ सय सदस्यमध्ये प्रायः प्राविधिकको अवस्था दयनीय रहेको संघले जनाएको छ ।

पर्दा पछाडी बसेर नेपाली फिल्ममा काम गर्ने प्राविधिकहरु समस्यामा परेको खबर सुनेपछि देश तथा विदेशबाट फिल्मकर्मीहरुले सहयोग गर्न थालेका छन् । केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकलाई खाद्यान्न सहयोग गरेका थिए भने बुधवार अभिनेत्री सुमिना घिमिरे र उनका श्रीमानले ४० जना प्राविधिकलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरे ।

यस्तै कलाकार तथा निर्माता निर्मल शर्माले पनि समस्यामा परेका प्राविधिकका लागि लक्ष्मी प्रतिष्ठानको तर्फबाट २५ हजार प्राविधिक संघलाई हस्तान्तरण गरेका छन् । संघले प्राविधिकहरुको सहयोगका लागि स्थापना गरेको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’ मा विदेशमा बस्ने फिल्मकर्मीहरुले पनि सहयोग गरेका छन् । अमेरिकामा बस्ने फिल्मकर्मीबाट ठूलो मात्रामा सहयोग जुटेको छ ।

अभिनेताहरु जीवन लुईटेल, राजबल्लभ कोइराला, निरज बरालले ५१/५१ हजार विपद् व्यवस्थापन कोषमा सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिनुभयो । त्यस्तै, कलाकार गणेश उप्रेतीले ५० हजार, अभिनेता मुकेश आचार्यले २१ हजार, निर्माता तेजेन्द्र कँडेल, प्रोडक्सन डिजाइनर कृष्ण कोइराला र कलाकार तथा निर्देशक अगराज केसीले १५/१५ हजार सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस