नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन: विश्व स्वास्थ्य संगठन, हाल नेपालमा डेल्टा भेरियन्ट सक्रिय

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २०, बिहिबार मा प्रकाशित १४७६ पटक पढिएको

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन: विश्व स्वास्थ्य संगठन, हाल नेपालमा डेल्टा भेरियन्ट सक्रिय

जेठ २०, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ।

बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३) को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको हो।

विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।

‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन। नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन्। यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो,’ डब्लुएचओ नेपालले सामाजिक सञ्जालमा भनेको छ।

डब्लूएचओले बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरेको छ।

बेलायतमा भेटिएको बी.१.१.७ भेरियन्टको नाम अल्फा हो। दक्षिण अफ्रिकाको बी.१.३५१ को नाम बिटा, भारतको बी.१.६१७.२ भेरियन्टको नाम डेल्टा राखिएको छ। यस्तै भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नामा काप्पा राखिएको छ।

डेली मेलको समाचारमा वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरिएको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरुलाई सचेत गराएका भनेर लेखिएको छ। भारतमा उत्पत्ति भएको बी.१.१६७ भेरियन्टको नेपालमा दोस्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने पनि डेली मेलले आफ्नो समाचारमा लेखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत डेली मेलको उक्त समाचारमा कुनै सत्यता नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा कृष्णप्रासद पौडेलले नेपाल कोरोना भाइरसको कुनै छुट्टै (नयाँ) भेरियन्ट नभेटिएको बताए।


प्रतिक्रिया दिनुहोस