कोभिड-१९ ‘हिरो अवार्ड’ बाट कलाकार तथा समाजसेवी बिक्रमजंग शाह सम्मानित

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार मा प्रकाशित ११७४ पटक पढिएको
कोभिड-१९ ‘हिरो अवार्ड’ बाट कलाकार तथा समाजसेवी बिक्रमजंग शाह सम्मानित

जेठ २२, काभ्रे। राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक कलाकार, गायक चलचित्र निर्माता बिक्रमजङ्ग शाह कोभिड-१९, २०२१ हिरो अवार्डबाट सम्मानित हुनुभएको छ।

कोभिडको महामारीमा दीन दुःखीको सेवामा अहोरात्र खटिएका राष्ट्रिय संगितकर्मी संघका महासचिव तथा लोकदोहोरी गायक शाह उक्त  अवार्डबाट सम्मानित हुनुभएको हो।

कोरोना भाइरस (कोभिड-१९) को विषम अवस्थामा दैनिक ज्यालादारी गरी परिवार पाल्ने सर्वसाधारणको रोजीरोटी गुमेको, कतिपय भोकै बस्न बाध्य भएका, कतिपय परिवार पाल्नको लागि भौंतारीरहेको अवस्थामा पनि ज्यानको प्रबाह नगरी बिभिन्न ठाउँहरुमा पिडित नेपालीहरुलाइ बिक्रमजंग शाहले निरन्तर खाद्यान्न सहयोग गरिरहनुभएको छ।

शाहलाई अमेरिकामा रहेको ‘हामी नेपाली ग्लोवल’ नामक अन्तर्राष्ट्रिय संस्थाले कोभिड हिरो अवार्ड २०२१ बाट सम्मान गरेको हो। शाह गत बर्ष पनि कोभिड हिरो अवार्ड २०२० बाट समेत सम्मानित हुनुभएको थियो।

हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्था र कलाकर्मीहरुको साझा घर राष्ट्रिय संगितकर्मी संघको सहकार्यमा बिगत १ महिनादेखि निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय रहनुभएको छ। शाहको यो अमूल्य योगदानको कदर स्वरुप हामी नेपाली ग्लोवल संस्थाले अवार्डले सम्मान गरेको संस्थाका अध्यक्ष अमृत लामाले बताउनुभएको छ।

मानिसको आधारभुत आवश्यकता भनेको गाँस, बास र कपास भएकाले सो को प्रत्याभुती राज्यले गर्नुपर्ने र बिषम परिस्थितीमा हामी जस्ता संघ-संस्था र नागरिक समाजको पनी कर्तव्य हुने बताउदै शाहले यस्तो महामारीको समयमा भोकालाई भोजन खुवाउन र राहत बाँडेर गरीब असहायको पीडामा मल्हम लगाउन पाउँदा आफूलाई खुशी लाग्ने बताउनुहुन्छ। शाह अवार्डले आफूलाई समाजसेवामा लागि दीन दुःखीको सेवामा समर्पित हुन प्रौत्साहन मिलेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस