नमोबुद्धमा विपन्न र असहाय ७ सय परिवारलाई राहत वितरण

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ९१० पटक पढिएको
नमोबुद्धमा विपन्न र असहाय ७ सय परिवारलाई राहत वितरण

जेठ २४, काभ्रे। कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नमोबुद्ध नगरपालिकाका विपन्न र असहाय परिवारका लागि राहत वितरण गरिएको छ। नमोबुद्ध ठ्राङ्गु गुम्बा र ठ्राङ्गु भज्रयाना बुद्धिष्ट सेन्टरले नगरपालिकामार्फत ‘सोयर्स एक्सन हङकङ’को सहयोगमा राहत वितरण गरेका हुन्।

नगरपालिकाका ११ वडाका ७ सय परिवारलाई वडा कार्यालयमार्फत राहत वितरण गरिएको ठ्राङ्गु गुम्बा नमोबुद्धका महासचिव आचार्य पासाङले जानकारी दिनुभयो। राहत प्याकेजमा प्रत्येक परिवारका लागि ३० केजी चामल, ३ किलो दाल, २ लिटर तेल र १ किलो नुन रहेको छ।

गुम्बाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई राहत प्याकेज हस्तान्तरण गरेको थियो। त्यसपछि नगरपालिकाले सबै वडा कार्यालयमार्फत विपन्न र असहाय परिवारका लागि राहत वितरण गरेको हो। नगरपालिकाले कोरोना भाइरस महामारीको पहिलो लहरदेखि नै विभिन्न संघसंस्थाको सहयोगमा विपन्न वर्गका लागि राहत वितरण गर्दै आइरहेको छ।

नमोबुद्ध ठ्राङ्गु गुम्बाले गत बर्ष पनि नमोबुद्ध नगरपालिकामार्फत विपन्न र असहाय परिवारका लागि राहत वितरण गरेको थियो। कोभिड १९ को महामारी र यसलाई रोकथाम एवं नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकलाई केही हदसम्म भए पनि राहत महसुस होस् भन्ने उद्देश्यले राहत वितरण गरिएको गुम्बाले जनाएको छ।

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण


नमोबुद्ध नगरपालिकालाई वागमति टिपर व्यवसायी संघले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ। कोरोना भाइरस महामारीको रोकथाम एवं नियन्त्रणका लागि संघले मास्क, पिपिई, फेस सिल्ड, सेनिटाइजर, अक्सीमिटर, डिजिटल थर्मोमिटर, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको हो।

संघका अध्यक्ष प्रेम लामासहितको टोलीले आज (सोमबार) नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले महामारी रोकथाम र नियन्त्रणमा लागिरहेको नगरपालिकाका लागि प्राप्त स्वास्थ्य सामग्रीले थप मद्दत र हौसला मिलेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस