नमोबुद्धमा कोरोना संक्रमितले बेचे घरेलु मदिरा, १२० लिटर मदिरा नष्ट गरियो

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २६, बुधबार मा प्रकाशित १३३१ पटक पढिएको
नमोबुद्धमा कोरोना संक्रमितले बेचे घरेलु मदिरा, १२० लिटर मदिरा नष्ट गरियो

जेठ २६, काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिकामा कोरोना संक्रमित व्यक्तिबाटै अवैधरुपमा घरेलु मदिरा विक्री भैरहेको पाईएको छ। कोरोना संक्रमित नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा आज (बुधबार) बरामद गरी नष्ट गरिएको छ।

कोरोना संक्रमित हुँदाहुँदै पनि घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुण्डेको टोली अनुगमनमा गई १२० लिटर घरेलु मदिरा बरामद गरी प्रहरी चौकी भकुण्डेमा नष्ट गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभएको छ।

पक्राउ परेका मदिरा बिक्री गर्ने उक्त परिवारका सदस्यलाई भने आइन्दा अवैधानिक कार्य नगर्ने चेतावनीसहित छाडिएको छ। नगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञाको उल्लंघन गर्दै अवैधरुपमा मदिरा बिक्री वितरण गर्ने गरेको सूचना आएको र त्यसको अनुगमन तीब्र बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभएको छ।

नगरपालिकाले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिलाई होम आइसोलेसनमा बस्न र कुनै स्वास्थ्य समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्दै आइरहेको छ। स्वासप्रस्वास लगायत सवास्थ्य समस्या भएका बिरामीका लागि नगरपालिकाले जनक बहुमुखी क्याम्पसमा आइसोलेसनको व्यवस्थासमेत गरेको छ।

टोलीमा नमोबुद्ध नगरपालिका ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, प्रहरी चौकी भकुण्डेका इन्चार्ज अशोक महतो लगायतको टोलीले मदिरा बरामद गरी नष्ट गरेको हो।

भकुण्डे बजारमा अनुगमन तीब्र

नमोबुद्ध नगरपालिकाले नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा अनुगमन तीब्र बनाएको छ। प्रहरीसहित नगरपालिकाको टोलीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तीब्र बनाएको हो।

नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञालाई पूर्णरुपमा पालना गर्न नगरभित्रका व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेको छ।

निषेधाज्ञाको उल्लंघन गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐनअनुसार कार्बाही हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस