भक्तपुरमा महामारी नियन्त्रण र संक्रमितको उपचारमा ‘सेवा परमो धर्म’ अभियान

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २९, शनिबार मा प्रकाशित ९५१ पटक पढिएको

भक्तपुरमा महामारी नियन्त्रण र संक्रमितको उपचारमा ‘सेवा परमो धर्म’ अभियान

जेठ २९, भक्तपुर। भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले कोभिड १९ महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेका छन् । उनीहरुले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने उद्घोष सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन गरिरहेका हुन् ।

अभियानका लागि भक्तपुरका सबै लायन्स क्लवहरुलाई संयोजन गरी ‘भक्तपुर लायन्स सेवा समन्वय समिति’ गठन गरेको समितिका संयोजक विष्णुभक्त मारिखुले बताए ।

महामारीका कारण उत्पन्न समस्या समाधानमा सरकारको एकल प्रयासले मात्र पर्याप्त नभएको भन्दै आफूहरुले अभियान चलाएको भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धरले बताएका छन् । अभियानलाई सफल बनाउनका लागि विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिहरु गठन गरी सोही समिति मार्फत विभिन्न निःशुल्क सेवा सञ्चालन गरिएका बताइएको छ ।

अभियान अन्तर्गत २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा, निशुल्क डाक्टरी परामर्स, आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि क्वारेण्टाइन सञ्चालन, जुम प्रविधिमार्फत सचेतना, अक्सिजन सहजीकरण,माईकिङ लगायतका कार्यक्रम रहेका छन् ।अभियान अन्तर्गत नै भक्तपुर नगरपालिकाबाट निर्माणाधिन अक्सिजन प्लान्टका लागि रु। ३ लाख आर्थिक सहयोग समेत प्रदान गरिएको छ।

चाँगुनारायण नगरपालिका ४ स्थित नेपाल इन्जिनियरिड्ड कलेजमा नगरपालिकाले सञ्चालन गरेको ५० शैयाको आईसोलेसनमा बस्नेहरुका लागि निःशुल्क रुपमा दिनको ४ पटक गरी खाजा खानाको व्यवस्थाका साथै अक्सिजनको सुविधा सहित दिनको एक पटक स्वास्थ्य जाँच तथा परामर्श सेवा समेत उपलब्ध गराउने कार्य यस अभियान अन्तर्गत भईरहेको बताइएको छ।

विशेषगरी कोभिड १९ का विरामीहरुलाई सहजरुपमा अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । एम्बुलेन्स भक्तपुर अस्पताल प्रांगणमा बस्ने गरेको छ भने सहज सम्पर्कका लागि हटलाईन नम्बर ९८६१-७५६४६१ को समेत व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस