मेलम्चीको घाउमा नमोबुद्धको मल्हम, खाद्यान्नसंगै आर्थिक सहयोग

नौलो समाचार संवाददाता
२०७८ अषाढ ३, बिहिबार मा प्रकाशित १०९७ पटक पढिएको

मेलम्चीको घाउमा नमोबुद्धको मल्हम, खाद्यान्नसंगै आर्थिक सहयोग

असार ३, मेलम्ची। काभ्रेको नमोबुद्ध नगरपालिकाले बाढीले तहसनहस पारेको छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरलाई सहयोग गरेको छ।पालिका-पालिकाबीच सहकार्यको नयाँ सुरुवात गर्दै नमोबुद्ध नगरलले छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिकसँगै खाद्यान्नसमेत सहयोग गरेको हो।

असार १ गते मंगलबार राती आएको बाढीका कारण अस्तव्यस्त बनेको मेलम्चीका लागि नमोबुद्धले बुधबार नै सहयोगको निर्णय गरेको थियो। उक्त निर्णयको भोलीपल्ट आज (बिहीबार) बिहानै मेलम्ची पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल नेतृत्वको टोलीले नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ।

नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाका साथै नगरको प्रकोप व्यवस्थापन विशेष कोयषबाट ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ। नमोबुद्ध नगरपालिकाले आर्थिक सहयोगसँगै खाद्यान्नसमेत सहयोग गरेको छ। नमोबुद्धले ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको छ।

सहयोग रकमको चेक प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर वहादुर अर्याललाई हस्तान्तरण गर्नुभयो। यससँगै उहाँले नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले पठाएको लिखित सन्देशसमेत मेलम्ची नगर प्रमुख अर्याललाई हस्तान्तरण गर्नुभएको थियो। यस्तै नमोबुद्ध नगरपालिका प्रमुख तिमल्सिनाले बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट पुगेको क्षतिबाट नमोबुद्ध नगरपालिका र नगरबासीलाई मर्माहत बनाएको भन्दै विपदको समयमा साथ दिने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।

मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्छ भन्दै नगर प्रमुख तिमल्सिनाले विपदको समयमा नमोबुद्ध नगरपालिका सदैब मेलम्चीको साथमा रहेको पनि आफ्नो सन्देशमा उल्लेख गरेका गर्नुभएको छ। उहाँले बेपत्ता भएका नागरिकको तीब्ररुपमा खोजी कार्य अघि बढाउन, आहातमा परेका नागरिकलाई थप राहतको व्यबस्था गर्न र क्षति भएका सम्पूर्ण संरचनाको पुननिर्माण गर्न प्रदेश तथा संघीय सरकार लगायतका सम्वन्धी निकायलाई अपिलसमेत गर्नुभएको छ।

नमोबुद्ध नगरपालिकाको सहयोग बुझ्दै मेलम्ची नगरपालिका प्रमुख अर्यालले आफूहरुको दुःखमा साथ दिएकोमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनासहित नगरपालिका परिवारप्रति आभार प्रकट गर्नुभयो। नगरपालिकाले निर्माण गरेका र निर्माणाधीन अवस्थामा रहेका नगरको गौरवका अधिकांश आयोजनामा बाढीले क्षति पुगेको जानकारी दिँदै उहाँले विपद व्यवस्थापन र पुननिर्माणबारे छलफल सुरु भइसकेको बताउनुभयो। उहाँले नमोबुद्ध नगरपालिकाको तर्फबाट प्राप्त सहयोगको पूर्णरुपमा सदुपयोग गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको नयाँ अभ्यासले आफूहरुलाई धेरै हदसम्म राहत महसुस भएको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस