पनौती नगरमा भैँसीका पाडी वितरण कार्य सम्पन्न, हालसम्म ८०६ वटा पाडी वितरण

नौलो समाचार संवाददाता
२०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित २३१३ पटक पढिएको
पनौती नगरमा भैँसीका पाडी वितरण कार्य सम्पन्न, हालसम्म ८०६ वटा पाडी वितरण

असार ४, काभ्रे। पनौती नगरपालिकाका १२ वटा वडामा भैँसीका पाडी (थोरे) वितरण कार्य आज (शुक्रबार) सम्पन्न भएको छ।

पनौती वडा नम्बर-९ को नौबिसे फाँटस्थित समर्पण साना किसान कृषि सहकारी सस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा किसानलाई पाडी (थोरे) वितरण गरिएको थियो।

यो आर्थिक वर्षमा पनौती नगरपालिकाका १२ वटा वडामा गरी जम्मा ५०६ वटा पाडी (थोरे) वितरण गरिएको छ।

आज १६ जना किसानलाई १६ वटा पाडी (थोरे) वितरण गरिएसंगै भैसी संंरक्षण तथा सम्बर्द्धन अभियान अन्तर्गत लागत साझेदारीमा पाडी वितरण कार्य सम्पन्न भएको हो। ९ नम्बर वडाको समर्पण साना किसान कृषि सहकारी सस्था अन्तर्गत रहेका विपन्न किसानहरुको छनौट गरी वितरण गरिएको हो।

गत आर्थिक वर्षमा ३०० वटा र यो आर्थिक वर्षमा ५०६ वटा सहित हालसम्म पनौती नगरपालिकाका १२ वटै वडामा ८०६ वटा पाडी वितरण गरिएको छ। थोरे पाडीलाई किसानको ७ हजार ५०० लगानी पर्छ भने अन्य सबै नगरपालिकाले बेहोरेको छ।

पनौती नगरपालिकालाई दुग्ध जन्य उत्पादनमा अझै अझै सबल बनाउने र विपन्न किसानको आर्थिक स्तर माथि उठाउने उद्देश्यले कार्यक्रमको थालनी गरिएको पनौती नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटा बताउनुभयो। नगरपालिकाको विभिन्न वडामा  पाडी वितरण कार्यक्रम निकै उत्साह र सफलता पुर्वक सम्पन्न गरेको सापकोटाले उल्लेख गर्नुभयो।

२०७५/७६ मा भैंसी सुत्केरी भत्ता वितरण कार्यबाट हौसिएर ०७७ सालबाट पाडी वितरण कार्यको थालनी गरिएको शाखा प्रमुख मणिप्रसाद सापकोटा बताउनुभयो। भैंसी सुत्केरी भत्ता वितरण कार्य अझै जारी रहेको छ।

उहाँले नमोबुद्ध नगरपालिका, पाँचखाल, मण्डनदेउपुर, बनेपाले पनि पनौती नगरपालिकाको पाडी वितरण कार्यक्रमको अनुसरण गर्दै यस्ता कार्यक्रमको सुरुवात गरेको बताउनुभयो। यसैगरी देशभरका ७० वटा पालिकाहरुले पाडी वितरण कार्यक्रमको बिवरण लगेको र सय भन्दा बढीले कार्यक्रमको बारेमा चासो राखेको र छिट्टै उनीहरुले पनि यस्ता कार्यक्रमको थालनी गर्ने सापकोटाले बताउनुभयो।

कार्यक्रम असफल हुन्छ भन्नेहरु अहिले ताली बजाउदै प्रशंसा गर्न थाले

कार्यकममा प्रमुख अतिथि पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले पाडी वितरणको कार्ययोजना बनाउदाको समयमा कार्यक्रम असफल हुन्छ भन्नेहरु नै अहिले ताली बजाउदै प्रशंसा गर्न थालेको बताउनुभयो। गतवर्ष वितरण गरिएका किसानको घर गोठमा पुगेर अनुगमन गर्दा ती पाडीहरु ब्याउने बेला भएको र अब दुध बेचेर आर्थिक रुपले अगाडी बढ्न सहयोग पुर्याएकोमा नगरपालिकालाई हर्षित हुदै धन्यवाद दिएको उल्लेख गर्नुभयो। उहाँले पाडी वितरण कार्यक्रम प्रभावकारी भएसंगै केन्दीदेखि प्रदेश सरकारले पनि यस तर्फ बजेट थप गर्दै लैजान थालेको उल्लेख गर्नुभयो। उपप्रमुख बन्जाराले पनौती नगरपालिकाले आगामी वर्षमा पनि पाडीवितरण कार्यलाई निरन्तरता दिई रहने बताउनुभयो।

यस्तै कार्यक्रमका सभापति पनौती वडा नम्बर ९ का वडा अध्यक्ष सहकुल हुमागाईंले बाटोघाटो, बिजुली र पानी मात्र बिकास नभई निम्न आयस्तर भएका जनताले आफ्ना छोराछोरी पढाउन, औषधी-उपचार र चाडपर्व मनाउन आर्थिक रुपले सक्षम हुनु पनि बिकास र समृद्धि भएको बताउनुभयो। ९ नम्बर वडामा गत सालदेखि हालसम्म ६७ वटा पाडी वितरण गरिएको, ५३ वटा बाख्रा र ३ वटा उन्नत जातको बोकाहरु वितरण गरिएको जानकारी दिनुभयो।

यसैगरी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले देशभर अनुदानका कार्यक्रम धेरै फेल हुने गरे पनि पनौतीमा भने पाडी अनुदानको कार्यक्रम उत्साह र सफलता पुर्वक सम्पन्न भएको र यसको अनुसरण अन्य पालिकाले पनि गर्नु ठुलो सफलता भएको उल्लेख गर्नुभयो। कृषकहरुले पनि अनुदानको दुरुपयोग नगरी ब्यवशायिक तवरले आफ्नो आर्थिक उन्नति तर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यस्तै, कृषि तथा पशुपन्छी शाखा प्रमुख सापकोटाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने नगर कार्यापलिका परिवार, नगर स्तरीय कृषि तथा पशुपंक्षी समिति, प्राविधिक समिति, पत्रकार महासंघ काभ्रे शाखा, सम्पूर्ण पत्रकार, नगरपालिका परिवार लगायत सम्पूर्ण सरोकारवाला तथा आम कृषक दाजुरभाई, दिदीबहिनीहरुलाइ नगरपालिकाको तर्फबाट धन्यबाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा बाल संगठन काभ्रेका अध्यक्ष बिदुरप्रसाद हुमागाईं, समर्पण साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष बिमला थापा, पत्रकार तथा किसानहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस