दुई दिनदेखि थुनिएको तामाकोसी अझै खुलेन, चिनियाँ टोलीद्वारा खोल्ने प्रयास जारी

नौलो समाचार संवाददाता
२०७८ अषाढ ५, शनिबार मा प्रकाशित ६४१ पटक पढिएको
दुई दिनदेखि थुनिएको तामाकोसी अझै खुलेन, चिनियाँ टोलीद्वारा खोल्ने प्रयास जारी

असार ५, काभ्रे। लगातारको वर्षाका कारण शुक्रबार रातिदेखि नै आएको बाढी र पहिरोले तिब्बतको टिंग्री काउन्टीस्थित रोङ्सी खोलामा थुनिएको तामाकोसी अझै खुलेको छैन। झन्डै २४ घन्टादेखि थुनिएको नदीले रोङ्सी खोला क्षेत्रमा ठूलो तालको रूप लिएपछि चिनियाँ टोलीले उक्त ताल खुलाउने प्रयास गरिरहेको छ ।

अहिले उक्त ताल खुलाउन चिनियाँ अधिकारी र सुरक्षाकर्मीको टोली पहिरोस्थल पुगेर सो ताल खुलाउन प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। कार्यालयका अनुसार चिनियाँ टोलीले नेपाललाई असर नपर्ने गरी खण्ड–खण्ड बनाएर ताल खुलाउन प्रयास गरेको सूचना प्राप्त भएको छ।

गएरातिदेखि थुनिएको नदी नखुलेपछि तामाकोसी नदीआसपासमा बसोवास गर्ने स्थानीयहरूमा जोखिम कायमै रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो। तिवारीले शनिबार मध्याह्नदेखि चिनियाँ टोलीले पहिरोस्थल पुगेको र उक्त ताल खुलाउन जनशक्ति प्रयोग गरिरहेको भए पनि नेपालतर्फको भूभाग अर्थात् तामाकोसी तटीय क्षेत्रमा जोखिम भने उच्च रहेको जनाएका छन् ।

दोलखा प्रशासनले नदीको तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई सचेतनाका लागि प्रहरी परिचालनसमेत गरिसकेको छ । शुक्रबार बेलुकी चीनको तिब्बतस्थित टिंग्री काउन्टीका सुरक्षा प्रमुखले दोलखा प्रशासनलाई नदी थुनिएकाले सचेत हुन जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस