काठमाडौं उपत्यकामा मंगलबारदेखि थप पसल सञ्चालन गर्न दिने तयारी

नौलो समाचार संवाददाता
२०७८ अषाढ ५, शनिबार मा प्रकाशित ६८५ पटक पढिएको
काठमाडौं उपत्यकामा मंगलबारदेखि थप पसल सञ्चालन गर्न दिने तयारी

असार ५, काठमाडौं। अघिल्लो साताभन्दा यो साता कोरोना संक्रमण घटेपछि उपत्यकामा थप आर्थिक क्षेत्र सञ्चालन गर्न दिने तयारी थालिएको छ। ८ असारदेखि निषेधाज्ञालाई थप खुकुलो बनाएर थप्न लागिएको छ।

आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बैठक बसेर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छन्। खाद्यान्न तथा निर्माण सामग्रीको पसल थप धेरै समय खोल्न दिने तयारी प्रशासन कार्यालयको छ।

त्यस्तै, कपडा तथा भाँडा पसलसमेत सञ्चालन गर्न दिन लागिएको छ। सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान भने तत्काल नखुल्ने भएको छ। उद्योग तथा कार्यालयहरू भने स्वास्थ्य मापदण्ड पालना गराएर खोल्न दिने सम्भावना रहेको स्रोत बताउँछ।

मंगलबारदेखि थप केही व्यवसाय सञ्चालन गर्न दिने तयारी रहेको बताउदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आइतबार यसबारे मूल्यांकन गरेर निर्णय गरिने जानकारी दिनुभयो।

अघिल्लो साता निषेधाज्ञा खुकुलो बनाएर एक साताका लागि थपिएको थियो । निर्माण सामग्री तथा पुस्तक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । होटेल तथा रेस्टुरेन्टले टेकअवे सुविधा दिन पाउने निर्णय भएकोमा त्यसलाई यथावत राख्न लागिएको छ।

पछिल्लो एक सातामा उपत्यकाका नयाँ संक्रमितको संख्या निरन्तर घट्दो क्रममा छ।

प्रतिक्रिया दिनुहोस