पाँचखालको बजेट ८९ करोड ५६ लाख, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारलाइ प्राथमिकता 

नौलो समाचार संवाददाता
२०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ९७५ पटक पढिएको
पाँचखालको बजेट ८९ करोड ५६ लाख, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारलाइ प्राथमिकता 

असार १०, काभ्रे। पाँचखाल नगरपालिकाले नवौ नगरसभाबाट ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाको बजेट बजेट प्रस्तुत गरेको छ। कृषि शहर पाँचखाल नगरको नारा लिएको नगरपालिकाले आर्थिक बर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

आज (बिहिबार) सभामा नगरउपप्रमुख लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गर्नुभएको हो। विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाड नहुने रकम ४३ करोड ७० लाख रहेको छ ।

नीति तथा कार्यक्रम पास भएपनि बजेटबारे नगरसभामा विभिन्न चरणमा छलफल गरेर सौहार्द तरीकाबाट पास हुने नगरप्रमुख खरेलले जानकारीदिनुभयो।

चालु आर्थिक वर्षमा मात्र पाँचखाल नगरपालिकाका विभिन्न वडामा ८ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भएको छ भने करीब ३० किलोमिटर भन्दा बढी सडक पक्कि नाली सहित स्तरोन्नति भएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने उद्येश्य अनुरुप यसै आर्थिक वर्षमा वडा नं. ४,५,६,७,९,१०,११,१२ र १३ मा नगरपालिकाबाट पहिलो पटक कालोपत्रे भएको छ । २, ३ र ८ मा यस अघि नै कालोपत्रे सडक पुगेको नगरले जनाएको छ । पाँचखालमा हाल सम्म वडा नं १ मा हालसम्म पनि कालोपत्रे सडक पुग्न नसकेको हुँदा उक्त वडामा ७८/७९ मा कालोपत्रे सडक पुर्योउने लक्ष्य भएको नगरप्रमुख खरेलको भनाई छ ।

नगरपालिकाले विधुत प्राधिकरण पाँचखाल वितरण केन्द्रको सहकार्यमा पाँचखालमा काठको पोल मुक्त नगर बनेको छ । धेरै नगरपालिकामा समस्यामा रहेको फोहोर व्यवस्थापनको लागि पाँचखाल नगरपालिकाले आफ्नो समन्वयमा निजी क्षेत्रको साझेदारीमा घर घरको फोहोर संकलन गरी प्राङगारीक मल उत्पादन तथा प्रशोधन गर्ने कार्यको लागि जग्गा भाडामा लिएर फोहोर संकलन शुरु गरेको नगरपालिकाले जनाएको छ । नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा तथा खेलकुद, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनलाई प्राथमिकता दिइएको छ ।

यस्तै पाँचखाल नगरले बाल विवाह अन्त्य गर्नका लागि पाँचखालको शान, बाल विवाहमुक्त हाम्रो अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकाको निम्ति बाल कोष खडा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सभाले नगरको विकास कार्यक्रम तथा सेवा प्रवाहका बारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत १ जना पत्रकारलाई पुरस्कृत गर्ने तथा कोभिड–१९ रोकथाम नियन्त्रण एवं उपचारमा प्रत्यक्ष रुपमा खटिएका कर्मचारीहरुको लागि विमा पुरस्कार एवं प्रोत्साहन भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै पाँचखाल नगरले २०७८र०७९ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न विनियोजन विधेयक २०७८ ल्याइएको छ । त्यसैगरी, एक घर, एक बैंक खाता नीति अनुरुप हरेक परिवारमा एक बैंक खाता खोल्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस