एक उपमहानगरपालिकासहित ७२ स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेनन्, भक्तपुरको मध्यपुर थिमीले पनि बजेट ल्याउन सकेन

बागमती प्रदेशका ५ प्रतिशत गाउँपालिकाले बजेट ल्याएनन्
नौलो समाचार संवाददाता
२०७८ अषाढ ११, शुक्रबार मा प्रकाशित ७६५ पटक पढिएको
एक उपमहानगरपालिकासहित ७२ स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेनन्, भक्तपुरको मध्यपुर थिमीले पनि बजेट ल्याउन सकेन

असार ११, काठमाडौं। मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ७२ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तोकिएको समयमा ल्याउन सकेनन्। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको तथ्यांकअनुसार ६ सय ८१ स्थानीय तहले मात्रै बजेट ल्याएका छन्।

कानून अनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले वार्षिक बजेट सार्वजनिक गर्नुपर्छ। तर, ७२ स्थानीय तहले यो म्यादभित्र बजेट ल्याउन नसकेका हुन्। ७ वटै प्रदेशका ४ सय ६० गाउँपालिकामध्ये ४१७ अर्थात ९१ प्रतिशत गाउँपालिकाले बजेट सार्वजनिक गरे पनि ४० वटा अर्थात् ९ प्रतिशत गाउँपालिकाले ल्याएका छैनन्।

महासघका अनुसार ३ वटा गाउँपालिकाले बजेट ल्याए/ नल्याएको जानकारी नै छैन । सम्पर्कमा नरहेकामध्ये २ वटा गाउँपालिका लुम्बिनी प्रदेशका र एउटा गण्डकी प्रदेशका गाउँपालिका रहेको महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो।

प्रदेश २ का ३४ प्रतिशत गाउँपालिकाले बजेट ल्याउन सकेनन् 

सबैभन्दा बढी ३४ प्रतिशत प्रदेश २ का गाउँपालिकाले बजेट ल्याउन नसकेको पाइएको छ । प्रदेश २ का जम्मा ५९ वटा गाउँपालिकामध्ये ६६ प्रतिशत अर्थात ३९ गाउँपालिकाले बजेट ल्याए भने ३० स्थानीय तहले बजेट ल्याउन सकेनन् ।

दोस्रोमा कर्णाली प्रदेशका १३ प्रतिशत गाउँपालिकाले पनि बजेट ल्याउन सकेनन् । जम्मा ५४ गाउँपालिकामध्ये ८७ प्रतिशत अर्थात ४७ गाउँपालिकाले बजेट ल्याए पनि ७ वटा स्थानीय तहले ल्याउन नसकेका हुन् ।

यस्तै गण्डकी प्रदेशका ७ प्रतिशत गाउँपालिकाले बजेट ल्याउन सकेनन् । जम्मा ५८ गाउँपालिकामध्ये ९१ प्रतिशत अर्थात ५३ ले ल्याए भने ४ वटाले ल्याउन सकेनन् । गण्डकी प्रदेशको एउटा गाउँपालिका भने सम्पर्कमा नआएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।

यस्तै प्रदेश १ र बागमती प्रदेशका ५/५ प्रतिशत गाउँपालिकाले बजेट ल्याएनन् । प्रदेश १ मा जम्मा ८८ गाउँपालिकामध्ये ८४ ले ल्याए भने ४ वटाले ल्याउन सकेनन् । बागमती प्रदेशका ७४ गाउँपालिकामध्ये ७० ले बजेट सार्वजनिक गर्दा ४ गाउँपालिकाले गर्न सकेनन् ।

सुदूरपश्चिम प्रदेशका जम्मा ५४ गाउँपालिकामध्ये ५३ ले बजेट ल्याए भने एउटाले ल्याउन सकेन । लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये ७१ ले बजेट ल्याए भने २ वटा गाउँपालिका सम्पर्कमा नआएको महासंघले जनाएको छ ।

२९ नगरपालिकाले सकेनन्

नेपाल नगरपालिका संघको तथ्यांकअनुसार ७ वटै प्रदेशमा २ सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकामध्ये ९० प्रतिशत अर्थात २ सय ६४ ले आगामी आर्थिक वर्ष २०७८र०७८ को बजेट सार्वजनिक गरे । तर १० प्रतिशत अर्थात २९ स्थानीय तहले भने तोकिएको समयमा बजेट सार्वजनिक गर्न नसकेको नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी प्रदेश २ का २१ नगरपालिकाले बजेट ल्याउन सकेनन् । प्रदेश २ का ७७ नगरपालिकामध्ये ४८ स्थानीय तहले बजेट नल्याएको व्याञ्जुले बताए ।

नेपाल नगरपालिका संघका अनुसार प्रदेश २ मा बजेट सार्वजनिक नगर्ने स्थानीय तहमा एउटा उपमहानगरपालिका पनि रहेको छ । बाराको कलैया उपमहानगरपालिकाले बजेट ल्याएको छैन । बाँकी नगरपालिकामा खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बरसाइन नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कर्जन्हा नगरपालिका, मिथिला बिहारी नगरपालिका, विदेह नगरपालिका, हंसपुर नगरपालिका, औरही नगरपालिका रहेका छन् ।

यस्तै बजेट नल्याउनेमा बलवा नगरपालिका, भँगाहा नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहरपट्टी नगरपालिका, बलरा नगरपालिका, गरुडा नगरपालिका, सिम्रौनगढ नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिका रहेका छन् ।

प्रदेश १ जम्मा ४९ नगरपालिकामध्ये ४५ ले बजेट ल्याए पनि ४ वटा नगरपालिकाले सकेका छैनन् । प्रदेश १ का बजेट नल्याउनेमा चैनपुर नगरपालिका, पाँचखपन नगरपालिका, लालिगुँरास नगरपालिका रहेका छन् ।

यस्तै तेस्रोमा कर्णाली प्रदेशका २५ वटा नगरपालिकामध्ये २३ नगरपालिकाले बजेट सार्वजनिक गरे पनि २ वटा नगरपालिकाले बजेट ल्याएनन् । जसमा बागचौर नगरपालिका र ठूलो भेरी नगरपालिका रहेका छन् ।

बागमती प्रदेशका ४५ नगरपालिकामध्ये ४४ ले ल्याउँदा एउटा मात्रै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले बजेट ल्याउन सकेन । गण्डकी प्रदेशका २७ नगरपालिकामध्ये २६ ले बजेट ल्याउँदा भानु नगरपालिकाले पनि बजेट ल्याएन । तर लुम्बिनी प्रदेशका ३६ वटै र सुदूरपश्चिमका ३४ वटै नगरपालिकाले तोकिएकै समयमा बजेट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस