अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइटमै ४ सय केजी सुन ल्याइँदै

नौलो समाचार संवाददाता
२०७८ अषाढ १२, शनिबार मा प्रकाशित १०६८ पटक पढिएको
अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइटमै ४ सय केजी सुन ल्याइँदै

असार १२, काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो।

निषेधाज्ञाका कारण रोकिएको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै सुरु हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारदेखि काठमाडौं-दुबई सीधा उडान खुल्ने भनिएको छ। मिलेसम्म पहिलो दिन नै सुन आयात हुने बैंकर एसोसिएसनकी सूचना अधिकारी सविना श्रेष्ठले बताउनुभयो।

बैंकहरुले भित्र्याउने सुन महासंघको समन्वयमा व्यवसायीले खरिद गर्ने गरेका छन्।

कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकाका तीनसहित ७५ जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी गरेका थिए। गत मंगलबारदेखि उपत्यकासँगै अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ।

पसल खोल्न पाइने भएपछि व्यवसायीले सुन माग गरेका छन्। यसपटक संघले निषेधाज्ञा अवधिमा पनि सुनचाँदीको कारोबार मूल्य निर्धारणको काम बन्द गरेको थिएन।

हालका लागि वागमती प्रदेश भित्र र बाहिरका लागि करिब ४ सय केजी सुन आयात गर्ने तय भएको जानकारी उनले दिइन। अहिले ८ वटा बैंकले ५०/५० केजीका दरले सुन आयात गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस