पनौती कुशादेवीमा हिमालयन डेरीका दुध ढुवानीका साधनमा ‘लोगो’ प्रदान

नौलो समाचार संवाददाता
२०७८ अषाढ १३, आईतबार मा प्रकाशित ७५८ पटक पढिएको
पनौती कुशादेवीमा हिमालयन डेरीका दुध ढुवानीका साधनमा ‘लोगो’ प्रदान

असार १३, काभ्रे। राष्ट्रिय दुग्ध विकास बोर्डले पनौती नगरपालिका-२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टर प्रालिका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिह्न प्रदान गरेको छ। हिमालयन डेरी नेपालमै निजीक्षेत्रको डेरीमा लोगो पाउने पहिलो डेरी हुन पुगेको छ।

पनौती उद्योग वाणिज्य संघ, नेपाल डेरी एसोसिएसन र पनौती नगरपालिकाको कृषि तथा पशुपंछी शाखाले हालै आयोजना गरेको लोगो हस्तान्तरण कार्यक्रममा एसोसियसनका महासचिव प्रल्हाद दाहालको उपस्थितिमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले सेन्टरका सञ्चालक रवीन्द्र हुँमागाईलाई प्रतीक चिन्ह हस्तान्तरण गर्नु भएको हो।

सरकारले दुधलाई अत्यावश्यक सेवामा राखेको र दुध ढुवानी गर्ने सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा सो चिन्ह अङ्कित सवारी साधनले अब सडकमा अन्य इमर्जेन्सी सवारीझैं प्राथमिकता पाउने नगर प्रमुख न्यौपानेको भनाइ छ।

नेपाल डेरी एसोसिएशनका महासचिव दाहालले प्रचलित कानूनअनुसार दर्ता भएको डेरीहरुले मात्रै लोगो प्राप्त गर्ने उल्लेख गर्नुभयो।बोर्डअन्तर्गतको प्रतिक चिह्न(लोगो) अनुगमन, व्यवस्थापन तथा नियमन समितिले दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्वन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका आधारमा लोगो प्रदान गरेको दाहालले बताउनुभयो।

कार्यक्रममा हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टरको लु १ क ३२३९ नम्बरको ट्यांकरमा प्रयोग गर्ने गरी जारी भएको लोगोलाई डेरी सञ्चालक रबिन्द्र हुँमागाईलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा डेरी सञ्चालक हुमागाईंले विगदेखि नै दुधको गुणस्तर कायम राखी उपभोक्ताहरुलाई स्वच्छ र सफा दुध उपलब्ध गराउँदै आएकोमा लोगो प्राप्तिसँगै थप जिम्मेवारी बढेको उल्लेख गर्नुभयो।

पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले पनौतीका वडा नं १, २ र १२ लाई भैंसीको पाकेटक्षेत्र र वडा नं ३ लाई गाईको पाकेट क्षेत्र तोकेर भैंसी प्रवद्र्धन र गाई संरक्षणका कार्यक्रमहरु लागू भइरहेको जानकारी दिनु भयो।

पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले नगरक्षेत्रमा कृषि र पशुपालनले व्यापकता लिएकै कारण संघले पनि यसैलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि समन्वय गरिरहेको जानकारी दिनु भयो ।

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष मधुसुधन गुरागाईं, सचिव महेशराज पौडेल, कोषाध्यक्ष अन्जु रन्जित केसी, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका पुर्व अध्यक्ष सोमप्रसाद हुमागाईंलगायतले पनौतीलाई चिनाउने कृषि तथा पशुपालन व्यवसायलाई अझ राम्रो बनाउनका लागि सरकारी र निजीक्षेत्र मिलेर जानु पर्ने सुझा दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस