भकुण्डे बजारका १७ स्थानमा सिसिटिभी क्यामरा जडान

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ४८३ पटक पढिएको

भकुण्डे बजारका १७ स्थानमा सिसिटिभी क्यामरा जडान

असार २०, काभ्रे। नमोबुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा सिसिटिभी निगरानी प्रणाली जडान गरिएको छ।
बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणको उद्देश्यले नमोबुद्ध नगरपालिकाले बजार क्षेत्रमा सिसिटिभी जडान गरेको हो ।

डिजिटल नमोबुद्धको अवधारणाअन्तर्गत जडान गरिएको सिसिटिभी निगरानी प्रणालीको आइतबार काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले संयुक्तरुपमा उद्घाटन गर्नुभयो।

नगरपालिकाले १५ लाख रुपैयाँको बजेटमा १७ स्थानमा १७ वटा क्यामरा जडान गरेको छ। यस्तै तीनवटा क्यामरा प्रहरी चौकी भकुण्डेबेशीमा जडान गरिएको छ । सबै सिसिटिभी क्यामराको कन्ट्रोल प्रहरी चौकी भकुण्डेबेशीबाट हुनेछ। पछिल्लोपटक भित्रिएको नयाँ प्रविधिसहित उच्च क्षमताका क्यामरा जडान गरिएको छ ।

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले जनप्रतिनिधि आएपछि डिजिटल नमोबुद्धको अभियान सुरु गरिएको र त्यसलाई कार्यान्वयन गर्ने क्रममा बजार क्षेत्रमा सिसिटिभी जडान गरिएको जानकारी दिनुभयो।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नगर र नगरबासीलाई सुरक्षित बनाउन नमोबुद्ध नगरपालिकाले लिएको पहलकदमीको प्रशंसा गर्नुभयो। सिसिटिभी जडान भएपछि नगरभित्र हुने अपराधको अनुसन्धानमा विशेष सहयोग हुने भन्दै पोखरेलले यसका लागि स्थानीय सरकारले दिएको चासो र चिन्ता प्रशंसनीय रहेको उहाँको भनाइ छ।

उहाँले आगामी दिनमा पनि शान्ति सुरक्षा कायम गर्न नगरपालिका र सुरक्षा निकायको सहकार्यको आवश्यकता औंल्याउँदै त्यसका लागि आवश्यक सहजीकरणको काम जिल्ला प्रशासन कार्यालय काभ्रेले गर्ने बताउनुभयो। अपराध अनुसन्धानका लागि सिसिटिभीबाट हुने निगरानी विश्वमै भरपर्दो अभ्यासको रुपमा स्थापित भइसकेको उहाँको भनाई थियो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रविधिको उच्चतम प्रयोग गर्दै नगरलाई सुरक्षित बनाउने उद्देश्यले नगरपालिकाले सिसिटिभी जडानको पहलकदमी लिएको बताउनुभयो । सबै वडामा इन्टनेटको पहुँच पुगेको, राजस्व तिर्नका लागि नगरपालिका वा वडासम्म धाउनुनपर्ने गरी घरबाट इसेवा तथा खल्ती एपबाट तिर्नसक्ने वयवस्था मिलाइएको पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले सिसिटिभी जडान कार्यले नगरमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो। यस्तै नमोबुद्ध नगरपालिकाका सूचना प्रविधि अधिकृत विजय प्रजापतिले सिसिटिभी निगरानी प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिनुभएको थियो।


प्रतिक्रिया दिनुहोस