अझै बनेन पनौती-बनेपा सडक, हिलो र फालिएका तारले यात्रा असुरक्षित

नौलो समाचार संवाददाता
२०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित २१८९ पटक पढिएको
अझै बनेन पनौती-बनेपा सडक, हिलो र फालिएका तारले यात्रा असुरक्षित

असार ३१, काभ्रे। बर्षौ देखि लथालिङ्ग र अलपत्र अबस्थामा रहेको बनेपा-पनौती सडक बन्न नसक्दा नागरिकहरुले निरन्तर सास्ती खेप्न बाध्य हुनु परेको छ। घाम लागे निस्सासिने धुलो र पानी परे हिलैहिलोको दिनहुको समय चक्रले जनमानसमा आक्रोस बढ्न थालेको छ।

सडक जिर्ण बनेको तीन वर्षभन्दा बढी हुँदा पनि सडक कालोपत्रे नहुँदा यात्रु र सडक आसपासका नागरिकले सास्ती खेप्नु परेको हो। खाल्डा खुल्डी र सडक जिर्ण बनेपछी सडक मर्मत कार्य अगाडी बढाइएको भएपनि ठेकेदारले ढिला सुस्ति रुपमा काम गरेपछी बनेपा-पनौती सडक बन्न नसकेको हो।

सरकारले गत पुस महिनाको अन्त्यमा उक्त सडक खण्ड कालोपत्रेको लागि बजेट विनियोजन गरेपनि कहिले कोभिड त, कहिले निषेधाज्ञाको बाहानामा वर्षायाम अघि कालोपत्रे नहुँदा यात्रु तथा स्थानीयबासीहरुले बर्षौदेखिको दुख र कष्ट अझै खेप्नुपर्ने भएको छ। बर्षायाम सुरु भएसंगै  सडकमा ग्राभेलको अनियन्त्रित हिलो र सडकमा फालिएका बिजुली, इन्टरनेट र केबलका ताराहरु जथाभावी सडकमै फ्याकिदिनाले बनेपा-पनौती सडक यात्रा झन् असुरक्षित बनेको छ।

लामो समयदेखि प्रत्येक बर्ष मर्मत सुधारको नाममा बजेट कनिका छरे जसरी छरेसँगै मर्मत हुन नसकेको सडकको विगत ३ बर्षदेखि पुर्ण रुपमा मर्मतको कार्य थाले पनि अहिलेसम्म बन्न नसकेको हो। पछिल्लो समय बनेपा-पनौती सडक खण्ड मर्मत सुधारका लागि १६ करोड ७५ लाख रुपियाँ बजेट विनियोजन भएको बताइएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर जयराम अधिकारीले बनेपा-पनौती सडक खण्डको कालोपत्रेको काम सुरु गरिएपनि निषेधाज्ञाका कारण काम रोक्नु परेको बताउनुभयो। उहाँले बनेपा तथा पनौती नगरपालिकामा निषेधाज्ञा जारी गरिएका कारण कालोपत्रे गर्नका लागि आवश्यक पर्ने विभिन्न निर्माण सामाग्री उपलब्ध हुने अवस्था नभएपछि काम रोकिएको बताउनुभयो।

तर पनौती ढलमलेका स्थानिय रामप्रसाद सापकोटाका अनुसार सडक मर्मतको गति कछुवाको तालमा अगाडी बढेका कारण पनि नागरिकले सास्ती ब्यहोर्नु परेको छ। निर्माण सामाग्रीको अभावमा काम रोकिएको भन्न नमिल्ने बताउनुभयो। निषेधाज्ञाको समयमा पनि रातारात विभिन्न सामान लिएर पनौतीबाट टिपरहरु पास हुने गरेको र आफुहरु त्यसको प्रत्यक्षदर्शी भएको सापकोटाको भनाई छ। सडक मर्मतको काम ढिलो भएपनी सरोकारवाला निकायहरु भने मौन नै रहेका छन्। सडकको काम ढिलो हुनुमा नेताहरुको कमजोरी पनि देखिएको स्थानियहरुको आरोप छ। धुवाँ धुलोका कारण बिरामीनै परेको सडक छेउका स्थानियाहरुको गुनासो रहेको छ।

निर्बाचनका क्रममा सडक, खानेपानी, शिक्षालाई मुल एजेण्डाको रुपमा लिएर हिँडेका पनौती क्षेत्रका विभिन्न वडाका नेताहरु अहिले सडकको काम ढिलो हुँदा कोही पनि नबोलेको नागरिकहरुको गुनासो रहेको छ। पनौतीको क्षेत्रको मुल सडकको अबस्थानै दयनिय भएपछि अहिले यस सडकलाई प्रयोग गर्दै आइरहेका यातायातका मजदुरहरुले पनि सडकका कारण सास्ती व्यहोर्नु परेको गुनासो व्यक्त गरेका छन्।

पनौती नगरपालिकाका नगर प्रमुख भीमप्रसाद न्यौपानेले बनेपा-पनौती सडकको काम निषेधाज्ञा अघि नै सुरु गरिए पनि सडक केहि बिस्तार गरिएसंगै बिजुलीका पुराना पोलहरु झिकेर नयाँ राख्ने र लाइन बिस्तारको कामले केहि ढिलो भएको र लगत्तै निषेधाज्ञाका कारण पनि कालोपत्रेको कामले गती लिन नसकेको बताउनुभयो। निषेधाज्ञा लगत्तै ग्राभेल र कालोपत्रेको काम सुरु गरे पनि वर्षातको कारण काम दिनहु बिथोलिने गरेको स्पष्ट पार्नुभयो। काम गर्ने क्रममा केही समस्या उत्पन्न भएका कारण ढिलो भएको भएपनि आफुले सरोकारवालासँग कुरा गरिसकेको बताउनुभयो। नगर प्रमुख न्यौपानेले यात्रु र स्थानीयले भोग्नु परेको समस्याको बारेमा आफुलाई जानकारी भएको बताउदै निर्माणाधिन बनेपा-पनौती सडक बर्षात कम हुने बित्तिकै कालोपत्रेको काम सुरु गर्ने उल्लेख गर्नुभयो। कालोपत्रे नहुन्जेल यात्रा सहजताको लागि ग्राबेल बिछ्याएर रोलरले पेल्ने काम गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बनेपा-पनौती सडक खण्डको ६ किलोमिटर दूरीको सडकमा पक्की नाली, रिटेनिङ वाल र विभिन्न स्थानमा ड्रेन बनाउन काम र सडक बिस्तार गरिएको स्थानहरुमा ग्राभेलिङ गर्ने काम सकिएको छ। सडकमा सब-बेस हाल्ने, बेस हालेर कालोपत्रे गर्ने काम बाँकी नै रहेको छ। सडक डिभिजन कार्यालय आफु पन्छिन नेपाल विद्युत प्राधिकरण र टेलिकमलाई दोष लगाएको छ । सडकमा रहेका बिद्युतका पोल हटाउने र तारहरु ब्यवस्थित गर्ने काम समयमा नहुँदा समस्या आएको हो । मर्मत सकिएपछी उक्त सडक अहिले ११ मिटरको बन्ने बताइएको छ।

सडक डिभिजन कार्यालयले सडकमा गुड्ने मालवाहक सवारी साधनलाई लक्षित गर्दै त्यही अनुरुप कालोपत्रे गर्ने सोच बनाएको सडक डिभिजन कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस