पनौती बालमैत्री नगरपालिका घोषणा, सहजकर्तालाई सम्मान, वडालाई ५ लाख 

नौलो समाचार संवाददाता
२०७८ श्रावण १, शुक्रबार मा प्रकाशित १३४१ पटक पढिएको
पनौती बालमैत्री नगरपालिका घोषणा, सहजकर्तालाई सम्मान, वडालाई ५ लाख 

साउन १, काभ्रे। काभ्रेको पनौती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको छ। एक समारोहकाबीच नेपाल सरकारका पुर्व सञ्चार मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले पनौती नगरपालिकालाई जिल्लाको दोस्रो बाल मैत्री स्थानीय शासन नगरपालिका घोषणा गर्नुभएको हो।

काभ्रे जिल्लाको दोस्रो, बागमती प्रदेशको चौथो र नेपालको आठौं नगरको रुपमा पनौती नगरपालिका बालमैत्री स्थानीय शासन घोषण सफल भएको हो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बाँस्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै जीवन सफल बन्नेमा जोड दिनुभयो। पूर्वमन्त्री बाँस्कोटाले बालबालिकालाई देशभक्त बन्नू तर पार्टीभक्त कहिल्यै नबन्न आग्रह गर्नुभयो।

असार ३० गते सम्मपन्न बालमैत्री नगर घोषणा समारोहमा संविधान सभा सदस्य रामहरि सुवेदी, बागमती प्रदेश सभा सदस्य चन्द्र लामा, नगरप्रमुख भिम प्रसाद न्यौपाने, उप-प्रमुख गीता बञ्जारा लगायत नगरका जनप्रतिनिधिको उपस्थिती रहेको थियो।

कार्यक्रममा विभिन्न सूचक पार गरेपछि नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा गरिएको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो।

बालमैत्री नगरपालिका नाममा मात्र सिमित नगर्नको लागि नगरपालिकाले विभिन्न रणनितिक योजना पनि बनाएको नगरपालिकाको सामाजिक विकास शाखाका केशब बन्जाराले जानकारी दिनुभएको छ।

सहजकर्तालाई सम्मान, वडालाई ५ लाख 

नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नमा अहोरात्र खटिने प्रत्येक वडाका सहजकर्तालाई कदरपत्र सहित नगदले सम्मान गरिएको छ। कार्यक्रममा पुर्व सञ्चार मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले जनही नगद १० हजार र कदरपत्रले सम्मान गर्नुभएको थियो।

यस्तै नगरका सबै वडाहरुलाई जनही नगद ५ लाख र कदरपत्रले सम्मान गरिएको छ। नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, वडा सचिव, सम्पर्क व्यक्ति महिला सदस्यहरुलाई पनि सम्मान गरिएको छ।

बालमैत्री नगरपालिका घोषणा गर्नमा सहयोगी भूमिका खेल्ने सम्पूर्ण व्यक्तित्वहरुलाई दोसल्ला, कदरपत्र तथा मायाको चिनो सहित सम्मान गरिएको थियो।

नगरपालिकाले बाल अधिकार सुनिश्चितताको लागि सबै वडामा बाल मैत्री संरचना बनाउने लक्ष्य राखेको छ। नगरपालिकाका १२ वटै वडामा बालमैत्री संरचना र शासन हुनेछ। नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि बालबालिकाको क्षेत्रमा बिशेष कार्यक्रम सञ्चालन गर्ने गरी नीति कार्यक्रम तथा बजेटको ब्यवस्था गरेको छ।

‘बालबालिकाको क्षेत्रमा लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने मुल नाराका साथ बालबालिकाका हक हित र अधिकारलाई कागज, बोली र व्यबहारमा लागू गर्दै पनौती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएकोमा सबै वडाका नगर बाल संजालहरुले सम्पूर्ण नगरबासीहरुमा बधाई ज्ञापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस