संक्रमित बढेसंगै नमोबुद्धको वडा नं. ४ क्षेत्र शिल, औषधी बोकेर संक्रमितको घर-घरमा मेयर

नौलो समाचार संवाददाता
२०७८ श्रावण १, शुक्रबार मा प्रकाशित ११८७ पटक पढिएको
संक्रमित बढेसंगै नमोबुद्धको वडा नं. ४ क्षेत्र शिल, औषधी बोकेर संक्रमितको घर-घरमा मेयर

साउन १, काभ्रे। नमोबुद्ध नगरपालिकाको वडा नम्बर ४ को क्षेत्र शिल गरिएको छ। वडा नम्बर ४ का विभिन्न बस्तीमा मानिसमा लक्षणसहित कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछी वडा नम्बर ४ शिल गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताउनुभयो।

नगरपालिकालले बस्तीको अवस्थाबारे बुझेर, स्थानीयबासीसँगको समन्वयसँगै नमोबुद्ध नगरपालिकाले वडा नं. ४ को प्रभावित क्षेत्र शिल गर्ने निर्णय गरेको हो। आज राती १२ बजेदेखि लागु हुने गरी साउन ७ गते राती १२ बजेसम्मका लागि प्रधावित क्षेत्र शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानाकारी दिनुभयो।

नगरपालिकाले वडा नं. ४ को जोरसल्ला, फुस्रे डाँडा, लालदेवी बस्ती, श्रीराम वस्ती, सुर्य वस्ती, सार्की टोल, कामी टोल र चिसापानी वस्ती पूर्णरुपमा शिल गरेको हो। शिलको अवधीमा औषधीपसल र स्वास्थ्य संस्थाबाहेक खाद्यान्न पसल, दूध र दुग्दजन्य पदार्थ बिक्री गर्ने पसल, मासु जन्य पसल, फलफुलजन्य पसल लगायत सबै पसलहरु वन्द गर्ने निर्णय गरिएको छ। यस्तै, बैंक तथा सहकारी लगायतका वित्तीय संस्था र अन्य कार्यालयहरु पनि बन्द रहनेछन् भने अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ।

नमोबुद्धका मेयर औषधी बोकेर संक्रमितको घर-घरमा 

यसैबीच, उक्त बस्तीका धेरै मानिसमा लक्षणसहित कोभिड-१९ को संक्रमण फैलिएको पाइएपछि नगर प्रमुखको नेतृत्वमा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीको टोली पुगेको थियो। उक्त टोलीले नमुनाको रुपमा बस्तीका २४ जनाको एन्टिजेन विधिबाट कोभिड-१९ को परिक्षण गरेको थियो । जसमध्ये ९ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ।

नगरका केही स्थानमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएपछी नगर प्रमुख टिपी शर्मा तिमल्सिना औषधीसहितका स्वास्थ्य सामग्री बोकेर कोरोना संक्रमित नागरिकको घर-घरमा पुगेर नागरिकको अवस्थाबारे जानकारी लिईरहनु भएको छ। नगर प्रमुख तिमल्सिनाले पोजेटिभ देखिएकाहरुको घरमै पुगेर अत्यावश्यक औषधी, मास्क तथा सेनिटाइजर वितरण गर्नुभएको छ।

उहाँले नगरबासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै कुनै स्वास्थ्य समस्या देखिए तत्काल नगरपालिकामा खबर गर्न आग्रह गर्दै स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गर्नुभयो। नगर प्रमुख तिमल्सिनाले अहिले नमुनाको रुपमा परिक्षण गरिएको र केही दिनमा वृहतरुपमा परिक्षण अभियान सञ्चालन गर्ने पनि बताउनुभयो। तिमल्सिनाले कोभिड १९ को संक्रमणबाट मुक्त भएका नगरबासीसंग पनि भेटघाट गर्नुभएको थियो। टोलीमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडे, वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले लगायत सहभागी हुनुहुन्थ्यो। टोलीमा रहेका स्वास्थ्यकर्मीहरुले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुलाई सचेतना जगाउने कार्यक्रम समेत गरेको छ।

खोप अभियानको अनुगमन

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा सञ्चालन भइरहेको कोभिड–१९ विरुद्धको खोप अभियानको पनि अनुगमन गर्नुभएको छ। तिमल्सिनाले जनक माविस्थित खोप केन्द्र पुगेर ५५ बर्षमाथिका नागरिकका लागि सञ्चालन भइरहेको खोप अभियानबारे जानकारी लिनुभएको छ । उहाँले नगरका स्वास्थ्य संस्थाका लागि आवश्यक खोप पनि सम्वन्धीत स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्नुभयो।

लक्षित वर्गका कुनै पनि नागरिक खोपबाट बञ्चित नहुनेगरी खोप अभियान चलाउन नगर प्रमुख तिमल्सिनाले निर्देशनसमेत दिनुभएको छ। नमोबुद्ध नगरपालिकामा २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत अहिलेसम्म ६ हजार २ सय ५६ जनाले खोल लगाइसकेका छन्। अब खोप लगाउन बाँकी १८ बर्षमाथिका नगरबासीको संख्या २० हजार ४ सय ६७ रहेको छ।

प्रतिक्रिया दिनुहोस