पनौतीका १५ सय रोपनी भन्दाबढी क्षेत्रका धानबालीमा रोगको प्रकोप, सय रोपनी धान बाली सखाप

१२ वटै वडामा रोगको प्रकोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण ३, आईतबार मा प्रकाशित १८१९ पटक पढिएको
पनौतीका १५ सय रोपनी भन्दाबढी क्षेत्रका धानबालीमा रोगको प्रकोप, सय रोपनी धान बाली सखाप

साउन ३, काभ्रे। पनौती क्षेत्रमा लगाईएको धान बालीमा रोग किराको प्रकोप बढे पछी किसानहरु चिन्तामा परेका छन्। सेतो र खैरो फड्के किराका कारण सिथ ब्लास्ट रोगले धानका बोट सुक्न थालेपछि धानबाली सखाप हुने अवस्थामा पुगेको छ।

धान खेतीका लागि उर्वर मानिएको खोपासी, नौबिसे लगाएत पनौतीका १२ वटै वडाका विभिन्न फाँटमा फड्के किरासंगे सिथ ब्लास्ट रोग देखा परेको छ। पनौती नगरपालिका क्षेत्रका १५ सय रोपनी भन्दा बढी क्षेत्रमा रोग देखा परेको नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो। मुख्य गरी हाईब्रिड जातका धानबालीमा यो रोगको प्रकोप देखिएको र बिस्तारै स्थानीय जातका धानमा पनि यो रोग सर्दै गएको प्रमुख सापकोटाले जानकारी दिनुभयो।

धान रोपेको एक महिना पछि रोगको प्रकोप देखिएको किसानहरुले बताएका छन्। यतिबेला फाँटभरि नै धानको हरियाली हुनुपर्नेमा खण्ड-खण्ड पहेको तथा बोट सुकेका खेतहरु देखिन्छन्। हुँदाहुँदा हाइब्रीड धानबाट सुरु भएको यो प्रकोप रैथाने धानमा समेत सरेको भन्दै किसानहरुले दुखेसो व्यक्त गरेका छन्। सानैमा धनको बोट सुक्न थालेपछि धनको बोट लिएर पिडित किसानहरु कृषि कार्यालय पुगेका थिए।

किसानहरुले लगाएको भारतीय र चाइनिज हाइब्रीड धानमा यो समस्या देखिएको हो। पनौतीका प्राय: किसानले बढी फल्ने मोहमा लगाएका हाइब्रीड धानका बीउ नै रोग निम्तिनुको प्रमुख कारक भएको कृषि विज्ञहरुको ठहर छ। रोगको प्रकोपले गजेका मध्ये एक सय रोपनी भन्दा बढी क्षेत्रफलका धान सखाप भएको कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो। हाइब्रीड धान धेरै नै फल्छ तर, त्यसलाई प्रभाव पार्ने धेरै तत्वहरु हुन्छन्, ती सबैलाई ध्यान नदिई धेरै फल्छ भनेर लहलहैमा खेती नगर्न उहाँको सुझाव छ।

किसानहरुले हाइब्रिड जातका धेरै उत्पादन दिने धानका बिउ लागेपछि त्यही जात र बिउ अनुसारको मल र औषधि उपचारमा ध्यान दिन नसक्दा रोगको प्रकोप देखिएको कृषि तथा पशुपन्छी शाखा प्रमुख सापकोटाले बताउनुभयो। हाइब्रीड बिउ लगाएका धान खेतबाट स्थानीय एक्ले, मनसुलि, खुमल-४, टाईचिन जस्ता अधिकांश धानमा पनि यो प्रकोप सरे पनि समयमै रोग बिरुद्ध बिषादी प्रयोग गरिएकाले सथानीय धानमा भने रोग नियन्त्रणमा आएको उहाँको भनाई छ।

रोगको बारेमा किसानहरुको गुनासो आउने बित्तिकै पनौती नगरपालिका कृषि शाखाले किरा र रोग बिरुद्ध औषधि वितरण सुरु गरेको थियो। पनौतीका खोपासी फाट, वडा नम्बर १०, ८ का क्षेत्रहरु बढी प्रभावित भएका छन् । पनौती नगरपालिका र कृषि कार्यालय खोपासीबाट पनि औषधी कार्य भैरहेको छ।

रोग प्रकोपले धान नै सखाप भएपछी अब आलु लगाउने सोचमा पिडित किसानहरु पुगेका छन्। पूर्णरुपमा क्षति व्यहोरेका पिडित किसानहरुलाई केहि राहतको लागी आफुले पहल गर्ने नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख सापकोटाले बताउनुभयो।

८ वर्षअघि पनि चिनियाँ हाइब्रीड डीवाई-६९ धानका कारण पाँचखालका किसानहरुले ठुलो क्षति बेहोर्नु परेको थियो। त्यतिखेर करीब पौने ३ करोड रुपैंया पाँचखालका किसानलाई नोक्सानी भएको थियो । त्यसपछि त्यहाँका किसानहरुले स्थानीय जातका बिउलाई प्राथमिकता दिदै हाइब्रीड धान लगाउनु अघि धेरै पटक सोच विचार गरेर, बुझेर मात्र लगाउने गरका छन्।

प्रतिक्रिया दिनुहोस