नमोबुद्धका कृषकलाई अनुदानमा कृषि औजार वितरण

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३, आईतबार मा प्रकाशित १०३० पटक पढिएको
नमोबुद्धका कृषकलाई अनुदानमा कृषि औजार वितरण

साउन ३, काभ्रे। नमोबुद्ध नगरका कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गरिएको छ। नगरपालिकाको वडा नं. २ का  ६५ जना कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गरिएको हो।

आज (आइतबार) आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालले वडाका कृषकलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा कुल ३२ जना कृषकलाई मिनिटिलर हस्तान्तरण गरिएको छ । जसमध्ये वडा कार्यालयले नगरपालिकाबाट प्राप्त दुईवटा तथा वडाको बजेटबाट व्यवस्था गरिएको १६ वटासहित १८ वटा एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक प्रवद्र्धन एवं विकास कार्यक्रम अन्तर्गत कृषक समूह/सहकारीमार्फत थप १४ वटा मिनिटिलर (ट्रयाक्टर) वितरण गरिएको हो।

यस्तै १० वटा च्याफ कटर (भुसा काट्ने मेसिन) तथा २३ वटा इलेक्ट्रिक पम्प वितरण गरिएको छ। कृषकहरुलाई मिनिटिलर र इलेक्ट्रिक पम्प ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको छ भने च्याफ कटर ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको छ ।

कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्वन्धी कार्यक्रमहरु अघि बढाइएको बताउनुभयो। नगरपालिकामा जनप्रतिनिधि आएलगत्तै कृषि नीति तयार पारिएको र विभिन्न वडामा पकेट क्षेत्रहरु बनाएर कृषि उत्पादनलाई जोड दिइएको तिमल्सिनाले बताउनुभयो। उहाँले नगरपालिका तथा वडाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न पनि कृषकहरुलाई आग्रह गर्नुभयो। यसै बर्षभित्र नगरपालिकाका सबै वडा कार्यालयको निर्माण सम्पन्न हुने, प्रमुख सडकहरु निर्माण तथा स्तरोन्नतिको काम सकिने पनि तिल्सिनाले जानकारी दिनुभयो।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले किसानका लागि भैसी वितरण, बाख्रा वितरण तथा कृषि औजार एवं उपकरण वितरणलाई निरन्तर अघि बढाउने पनि जानकारी दिनुभयो। यस आर्थिक बर्षमा पनि कृषि क्षेत्रका लागि विशेष बजेटसहित कार्यक्रमहरु तय गरिएको उहाँको भनाई थियो ।

वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालका अनुसार मिनिटिलरका लागि १ सय ६७ जना किसानले आवेदन दिएकोमा गोलाप्रथाबाट छानिएका किसानलाई मिनिटिलर दिइएको हो । यस्तै च्याफ कटरका लागि ६२ जना कृषकले निवेदन दिएका थिए भने २३ जना कृषकले इलेक्ट्रिक पम्पका लागि निवेदन दिएका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भने कृषक समूहले छनोट गरेका कृषकलाई मिनिटिलर वितरण गरिएको ढकालले बताउनुभयो। कृषि औजार र उपकरण वितरण गर्दा वडाका सबै भेगका किसान समेटिएको उहाँको भनाई थियो ।

सोही कार्यक्रममा केही समय अघि अयोजना गरिएको नगरस्तरीय उपमेयर कप भलिबल प्रतियोगितामा विजयी भएका वडा नं २ का खेलाडीहरुलाई सम्मानका साथै नगद पुरस्कारसमेत वितरण गरिएको थियो । कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष सञ्जु गैरे अधिकारीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस