नमोबुद्ध-११ को वडा कार्यालयले सुरु गर्यो आफ्नै सुविधासम्पन्न भवनबाट काम

नौलो समाचार संवाददाता
२०७८ श्रावण ४, सोमबार मा प्रकाशित ८३७ पटक पढिएको
नमोबुद्ध-११ को वडा कार्यालयले सुरु गर्यो आफ्नै सुविधासम्पन्न भवनबाट काम

साउन ४, काभ्रे। चार बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध नगरपालिका-११ कुरुगाउँको वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ।
वडा कार्यालय भवनको आज (सोमबार) आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेसँगै अव सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्ने भएका छन् । वडा कार्यालय भवनसँगै कुरुगाउ आधारभुत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । यससँगै वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप ससहजता आउने भएको छ । नगर प्रमुख तिमल्सिनाले वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवनको एकसाथ उद्घाटनगर्नुभएको थियो।

२०७४ सालको स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएपछि निर्माण भएर उद्घाटन भएको वडा नं. ११ को वडा कार्यालय पहिलो हो । वडा कार्यालय ५५ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो भने ३३ लाख १० हजार रुपैयाँ तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्तामार्फत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।

नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं. ११ सहित वडा नं. ३ र ६ को वडा कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा वडा नं. २, ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक बर्षमा वडा नं. १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरुपमा निर्माणको कामसमेत सकिसकेको छ ।

वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले एकतावद्धरुपमा नगरको विकासमा लागिपरेको बताउनुभयो। सबै वडामा प्रशासकिन भवन तथा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको, मुख्य सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भएको तथा सबै वडाको केन्द्रसम्म पुग्ने सडकसमेत निर्माण भएको तिमल्सिनाले बताउनुभयो। नगरको ऐतिहासिक दाप्चा क्षेत्रको पुननिर्माणको काम अघि बढाउन लागिएको जानकारी दिँदै तिमल्सिनाले वडा नं. ११ मा सडक, खानेपानी आदिको व्यवस्थापनमा विशेष जोड दिइएको बताउनुभयो। वडा नं. ११ मै धुलिखेल अस्पतालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र निर्माणका लागि कार्यसमेत सुरु गर्न लागिएको उहाँले बताउनुभयो।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरमा भौतिक संरचनाको विकास तीब्ररुपमा भएको बताउँदै यसको सही सदुपयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो। उहाँले सडक निर्माणसमेत नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको र सोहीअनुसार नगरका सबै वडामा मुख्य तथा सहायक सडक निर्माणको काम भइरहेको तामाङले जानकारी दिनुभयो।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरबासीले सहजरुपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले वडा भवन निर्माण, वडा कार्यालयका साथै मोबाइल एप्लिकेसनमार्फत राजस्व भुक्तानीको व्यवस्थापन गरिएको बताउनुभयो। गाउँगाउँमा सिंहदरबारको नारालाई सार्थक बनाउनकै लागि सबै वडामा कार्यालय भवन निर्माणलाई विशेष जोड दिइएको र यसले वडाबासीलाई सेवा प्रवाहमा थप प्रभावकारिता आउने उहाँले बताउनुभयो।

यसैगरी वडा नं. १ का अध्यक्ष कृष्णवहादुर तामाङले दाप्चासडकदेखि वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने बताउनुभयो।वडाबासीको साथ र सहयोगकै कारण वडा कार्यालय तथा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उहाँले स्थानीय तहबाट जनताले प्राप्त गर्ने सेवा सुविधालाई सहज र सुलभ तरिकाबाट प्रदान गर्न थप मद्दत पुग्ने बताउनुभयो।

नगरपालिकाका अन्य वडाका अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष कर्म ग्याल्बो लामा, वडा सदस्य भवमान तामाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमकै अवसरमा वडा कार्यालयको दलित आयआर्जन कार्यक्रमअन्तर्गत वडामा रहेका १३ वटै दलित परिवारलाई आयमुलक कार्यका लागि ड्रिल मेसिन, वेल्डिङ मेसिन र कटिङ मेसिन वितरण गरिएको थियो ।

यस्तै चार बर्षसम्म वडा कार्यालय र स्वास्थ्य केन्द्र सञ्चालनका लागि घर उपलव्ध गराउने घरधनीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रम वडा सचिव शंकर भट्टराईले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस