शान्ति जनआर्दश र सिआरएस नेपालको सहकार्यमा तेमालका १३ विपन्न परिवारलाई पक्की घर

नौलो समाचार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार मा प्रकाशित १८१९ पटक पढिएको

शान्ति जनआर्दश र सिआरएस नेपालको सहकार्यमा तेमालका १३ विपन्न परिवारलाई पक्की घर

साउन ८, काभ्रे। तेमाल गाउँपालिकाका १३ विपन्न परिवारलाई पक्की घर हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण भुकम्पमा क्षति पुगेका निजी आवास भवन निर्माण गर्न नसकेका तेमालका विभिन्न ८ वटा वडाका १३ विपन्न परिवारलाई भूकम्प प्रतिरोधी पक्कि घर निर्माण गरेर हस्तान्तरण गरिएको हो।

तेमाल गाउँपालिकाको समन्वयमा शान्ति जनआर्दश सेवा केन्द्र र सिआरएस नेपालको साझेदारीमा सञ्चालित काभ्रे पुर्नलाभ तथा पुर्नउत्थान परियोजना अन्तरगत उनीहरुलाई दुई कोठे पक्कि घर निर्माण गरिदिएको हो।

२०७२ सालको विनासकारी भुकम्पले घर भत्काएको ६ वर्ष वित्दा पनि तेमाल गाउँपालिकाका १३ परिवारले भने आर्थिक अवस्था अति नै कम्जोर भएकै कारण घर पुनर्निमाण गर्न सकेका थिएनन्।

तेमाल गाउँपालिकामा संस्थाले १३ विपन्न परिवारको घर निर्माण गर्नुको साथै ९० जना विपन्न परिवारको घरको लागि झ्याल ढोका, जस्तापाता लगायतका सहयोग गरेको र एक घर सवलीकरण गरेको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले बताउनुभयो।

तेमाल गाउँपालिकाका वडा नं. ३ बाहेक सबै वडाका विपन्न परिवारको भुकम्प प्रतिरोधी घर पुनर्निर्माण भएको छ। वडा नं. ३ बाट भने पुनर्निर्माणको लागि सिफारिस नभएको केन्द्रका अध्यक्ष लामाले जानकारी दिनुभयो।
लामाका अनुसार वडा नं. १ का बुद्धिमाया कामी र कृष्णबहादुर नगरकोटी, वडा नं. २ का साइली तामाङ, वडा नं. ४ का रत्नमान लामा, विष्णु तामाङ, वडा नं. ५ का लालबहादुर तामाङ, वडा नंं ६ का भिमबहादुर नेपाली, उमेश नेपाली, मिममाया तामाङ, वडा नं. ७ का च्याङबारानी तामाङ, वडा नं. ८ का सुनमाया बमजन, अनिल दमाईं, वडा नं. ९ का कमलबहादुर तामाङले भूकम्प प्रतिरोधी घर पाएका छन् । अति विपन्न परिवार, दलित, एकल महिला, द्वन्द्व पिडित, एकल पुरुषलाई सो परियोजनामा समेटिएको अध्यक्ष लामाले जानकारी दिनुभयो।

यसैबीच परियोजना अनुसार पुनर्निर्माण भएको परिवारले सरकारबाट लिएको पहिलो किस्त रकम समेत संस्थाले सरकारलाई नै फिर्ता गराएको उहाँले जानकारी दिनुभयो।

शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएसले पक्की घर बनाइ बासको व्यवस्था गरीदिएपछि उनीहरुको खुसीको सिमा छैन।

जनप्रतिनिधिद्वारा आभार

घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले दुइ वटा संस्थाको समन्वयका कारण बिपन्नले घर पाएको र दुवै संस्थाको योगदान तेमाल भरिनै रहेको बताउँदै संस्थालाई धन्यवाद समेत प्रकट गर्नुभयो। पुनर्निनिर्माण भइसकेको घरको बेवास्त नगर्न सम्बन्धित परिवारलाई उपाध्यक्ष तामाङले अनुरोध गर्नुभयो।

घर हस्तान्तरण गर्दै केन्द्रका अध्यक्ष लामाले तेमालबाट सही परिवारको नाम छानेर पठाएकोले संस्थालाई गर्व लागेको बताउनुभयो। आफूहरुले छाप्रोमा बस्न बाध्य परिवारलाई छानो बनाइदिने काम मात्र गरेको बताउँदै लामाले प्लास्टर, रंगरोगन लगायतका बाँकी काम गर्न गाउँपालिकालाई अनुरोध गर्नुभयो। आफ्नो संस्थाले बनाएका घरहरुका प्लास्टर र रंग लगाउन रोशी गाउँपालिका र पनौती नगरपालिकाले प्रतिबद्धता जाहेर गरेको पनि उहाँले बताउनुभयो।


शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएसले आफ्नो वडाका अति विपन्न परिवारको घर पूनर्निर्माण गरेकोमा वडा नं. १ वडा अध्यक्ष मानबहादुर श्रेष्ठ, डा नं. २ का वडा अध्यक्ष तिमालसिं तामाङ, डा नं. ४ का वडा अध्यक्ष आसपुर तामाङ, वडा नं. ५ का वडा अध्यक्ष प्रविन लामा, वडा नं. ६ का वडा अध्यक्ष बिकुलाल मोक्तान, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबादुर तामाङ, वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मिबहादुर घिसिङ र वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले आभार प्रकट गर्नुभयो।

केन्द्रका अध्यक्ष लामाका अनुसार जिल्लको ३ स्थानीय तहमा यो परियोजना अन्तर्गत पनौतीमा १६ घरपरिवार, रोशीमा १३ घरपरिवार र तेमालमा १३ घरपरिवारको गरी ४२ घर निर्माण गरिएको छ । छाना छाउन नसक्ने, झ्याल ढोका हाल्न नसक्ने २ सय ९२ विपन्न परिवारलाई पनि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म संस्थाले सहयोग गरेपछि विपन्नले झ्याल ढोका, छानो छाउन सकेका छन् ।

घर हस्तान्तरण गर्न शान्ति जन आदर्श सेवा केन्द्रका कोषाध्यक्ष शान्ति लामा, सिआरएसका इन्जीनियर प्रकाश गैरे, शान्ति जन आदर्श सेवा केन्द्रका लिड इन्जीनियर दिपेश निरौंला, तेमाल क्षेत्र हेर्ने इन्जनियर गोकुल न्यौपाने लगायतकाको सहभागीता रहेको थियो।


प्रतिक्रिया दिनुहोस