नमोबुद्धमा अपांगता भएका व्यक्तिकालाई स्वास्थ्य तथा सहायक सामग्री हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ श्रावण १०, आईतबार मा प्रकाशित ६६५ पटक पढिएको
नमोबुद्धमा अपांगता भएका व्यक्तिकालाई स्वास्थ्य तथा सहायक सामग्री हस्तान्तरण

साउन १०, काभ्रे। नमोबुद्ध नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य सामग्रीसहित अत्यावश्यक सहायक सामग्रीहरु वितरण गरिएको छ । वडा कार्यालयमार्फत सबै वडामा रहेका अपांगता भएका व्यक्तिका लागि वितरण गर्न लागिएको सहायक सामग्री र स्वास्थ्य सामग्रीहरु आज (आइतबार) नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सम्वन्धीत वडाका वडाअध्यक्षहरुलाई हस्तान्तरण गर्नुभएको हो।

नगरपालिका स्तरीय अपांगता परिचय पत्र सिफारिस समन्वय समिति संयोजक एवं उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ह्वील चेयर १४ वटा, कमोड ट्वाइलेट १३ वटा, वैशाखी ६ वटा, दृष्टिबिहीनका लागि सेतो छडी ५ वटा, लठ्ठी १५ वटा, फोष्टिक लठ्ठी १ वटा हस्तान्तरण गरिएको छ । यस्तै १०० एमएलको सेनिटाइनर ३५० थान, मास्क ३५० प्याकेट तथा मस्किटो लिक्विड ४०५ थान हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले चालु आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रका लागि विशेष कार्यक्रमहरु तय गरिएको र यसबाट जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु थप लाभान्वित हुने बताउनुभयो। उहँका अनुसार नगरस्तरीय कार्यक्रमअन्तर्गत दाँतसहितको मुस्कान कायृक्रमअन्तर्गत १०० जनाको दाँत राख्ने, लितगंगा आँखा अस्पतालसँगको समन्वयमा सुगर र आँखा युनिट तयारी कार्यक्रम, नेपाल हियरिङ एन्ड स्पिच सेन्टर, यु नेपाल आई प्रोग्राम तिलगंगाको समन्वयमा १०० जनाका लागि कानमा राख्ने मेसिन वितरण हुनेछ ।

यस्तै जेष्ठ नागरिक सेन्टर बत्तिसपुतलीसँगको सहकार्यमा अल्जाइमर्सको उपचार कार्यक्रम तथा कान नसुन्ने एवं आँखा नदेख्ने अपांगता भएका व्यक्तिलाई मैत्रीपूर्ण मोबाइल वितरणको कार्यक्रम गरिनेछ भने विपन्न र अपांगता भएका १ हजार परिवारका लागि पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम तय गरिएको छ । नगर प्रमुख तिमल्सिनाले नगरमा रहेका जेष्ठ नागरिकका लागि वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिएको जानकारी दिँदै सामाजिक सुरक्षावापतको रकम बैंकिङ प्रणालीमार्फत सहजरुपमा वितरण भइरहेको पनि बताउनुभयो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अपागता भएका व्यक्तिका लागि हस्तान्तरण भएका सामग्री सम्वन्धीत वडा कार्यालयमार्फत वितरण हुने जानकारी दिनुभयो। उहाँले नगरपालिकाका प्रशासकीय भवनका साथै सवै वडा कार्यालय एवं स्वास्थ्य संस्था अपांगमैत्री बनाइएको पनि बताउनुभयो।

नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुरुवारका अनुसार आर्थिक बर्ष २०७७/७८ को अन्त्यसम्ममा नमोबुद्ध नगरपालिकामा ३५० जना अपांगता भएका व्यक्ति रहेका छन् । चालु आर्थिक बर्षमा पनि थप अपांगता परिचयपत्र वितरण भइरहेको उहाँले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस