ईपीएस पास भएकालाई कोरिया पठाउने काम नरोक्न निर्देशन

नौलो समाचार संवाददाता
२०७८ श्रावण १४, बिहिबार मा प्रकाशित २४२ पटक पढिएको

साउन १४, काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

आज (बिहीवार)को बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगकोे छलफलपछि कोभिड-१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन समितिले निर्देशन दिएको हो ।

सभापति रामनारायण बिडारीले पीडित युवाले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफूसमक्ष उजुरी दिएकाले सरकारी अधिकारीसँग छलफल गर्नुपरेको र यसबारे तत्काल तदारुकताका साथ काम अघि बढाउनुपर्नेेमा जोड दिनुभयोे ।

दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिडको बीमा गराइ त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत पठाउन आग्रह गरेकामा दोस्रो लहरको सङ्क्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाई उडानका लागि नेपाल एअरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस