पनौती खरिबोटका दुग्ध किसानलाई अनुदान रकम वितरण

नौलो समाचार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित १२०७ पटक पढिएको

पनौती खरिबोटका दुग्ध किसानलाई अनुदान रकम वितरण

साउन २२,काभ्रे। जिल्लाको पनौती नगरपालिका वडा नं ८ स्थित खरिबोटका दुग्ध किसानलाई अनुदान रकम वितरण गरिएको छ। खरिबोट दुग्ध उत्पादन सहकारी संस्थामार्फत दूध विक्री गर्दै आएका १०६ किसानले प्रतिलिटर दुई रुपियाँ अनुदान पाएका हुन्।

पनौती नगरपालिका वडा न ८ मा रहेको खरिबोट दुग्ध उतपदन सहकारी संस्था लिमिटेडले शुक्रबार एक कार्यक्रमका बीच उक्त अनुदान रकम वितरण गरेको हो ।

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, वडा न ८ का वडा अध्यक्ष केशव बन्जारा, कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटा, वडा न ८ का वडा सचिव भगवान बस्नेत, सहकारीका अध्यक्ष गुरुराज बन्जरा लगायतले अनुदान रकम वितरण गर्नुभएको थियो।

खरिबोट दुग्ध उत्पादन सहकारी संस्थाका व्यवस्थापक एवम् पनौती नगरपालिका वडा न ८ का वडा अध्यक्ष बन्जाराले सहकारी मार्फत एक वर्षमा संकलन भएको तीन लाख १९ हजार १४४ लिटर दूधको दुई रुपैँयाका दरले छ लाख ३८ हजार २८८ रुपैँया बागमती सरकारले अनुदान दिएको रकम वितरण गरेको बताउनुभयो।

बागमती प्रदेश सरकारले प्रोत्साहनमा आधारित दुग्ध किसानलाई अनुदान रकम दिदैँ आएको छ । बागमती प्रदेश सरकारले सहकारी मार्फत दूध विक्री गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँ अनुदान दिने गरेको छ । काभ्रेमा सहकारी मार्फत दूध विक्री गर्ने किसानले उक्त अनुदान पाउँदै आएका छन ।

निजी डेरीमा दूध भर्ने किसानले भने त्यो सुविधा पाउँदैनन । दुई रुपैँया अनुदान दिदाँ किसानले फ्याटमा ५७ पैसा पाउने गरेका छन । उक्त सहकारीले किसानलाई अनुदानको रकमबाट स्प्रे पम्प वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस