खाने तेलको मूल्य उकालो लाग्दै, दसैंमा लिटरको कम्तीमा ३ सय पुग्ने प्रक्षेपण

नौलो समाचार संवाददाता
२०७८ श्रावण २४, आईतबार मा प्रकाशित ८१२ पटक पढिएको

खाने तेलको मूल्य उकालो लाग्दै, दसैंमा लिटरको कम्तीमा ३ सय पुग्ने प्रक्षेपण

साउन २४, काठमाडौं। महँगिएर फेरि सस्तिएको तोरी तेलको मूल्य अहले पुन: उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा अहिलेकै तोरीको मूल्य कायम रहे आगामी दसैंमा १ लिटर तोरीको तेलको मूल्य कम्तीमा ३ सय पुग्ने प्रक्षेपण उद्योगीले गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा सबै प्रकारका तेलहन बालीको मूल्य आकासिएको उल्लेख गर्दै उद्योगीले तोरीको मूल्य पनि यसबाट अछुतो नभएकाले मूल्यवृद्धि भएको बताएका हुन्।

अहिले बजारमा चल्तीमा रहेका ब्रान्डका तोरीको तेलको मूल्य प्रति लिटर २ सय ६० देखि २ सय ९० रुपैयाँसम्म छ। दुई महिनाअघि एक लिटरको २ सय ३० देखि २ सय ६० सम्म थियो। तोरीको मूल्य आकासिएसँगै तेलको मूल्य पनि वृद्धि भएको हो।

हाल स्वस्तिक आयलको उत्पादन ‘धारा’ ब्रान्डको तोरीको तेलको मूल्य एक लिटरको ३ सय ६५ रुपैयाँ छ। दुई महिनाअघि यसको मूल्य ३ सय ५५ रुपैयाँ थियो।

स्वस्तिक आयलले ‘धारा’ तोरीको तेलमा शत प्रतिशत भारतीय तोरी प्रयोग गर्ने भएकाले यसको मूल्य पनि महँगो भएको हो। अन्य उद्योगले स्वाद र सुगन्धका लागि २० देखि ४० प्रतिशत भारतीय तोरी मिसाएर बाँकी युक्रेनबाट पैठारी गरिएको तोरीबाट तेल उत्पादन गर्दछन्।

सुनसरीको जेके आयल इन्डस्ट्रीका सञ्चालक जितु तापडियाका अनुसार नेपालका उद्योगले अहिले सबैभन्दा बढी तोरी युक्रेनबाट पैठारी गरिरहेका छन्। युक्रेनको तोरीको मूल्य गत वर्ष यति बेला प्रति टन ७ सय डलर रहेकोमा अहिले ८ सय १० पुगेको छ। युक्रेनको तोरीबाट ४२ प्रतिशत तेल उत्पादन हुन्छ।

त्यस्तै अस्ट्रेलियाको तोरीको मूल्य एक वर्षअघि एक टनको ५ सय ५० डलरबाट अहिले ८ सय ५० डलर भएको छ। अस्ट्रेलियाको तोरीबाट ४४ प्रतिशत तेल निस्कन्छ।

क्यानाडाको तोरीको मूल्य पनि बढेको छ। एक वर्षअघि क्यानाडाको तोरीको मूल्य टनको ५ सय ५० डलर थियो। अहिले ८ सय ९० डलर भइसकेको छ। क्यानाडाको तोरीबाट ४४ प्रतिशत तेल उत्पादन गरिन्छ।

उहाँले भारत, ब्राजिल, अर्जेन्टिनालगायत भटमास उत्पादन हुने सबैजसो मुलुकमा भटमासको उत्पादन ४० प्रतिशतसम्म घटेको दाबी गर्दै यसको असर तोरीको तेलमा परेको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस